नयाँ नागरिकतासँगै राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक, पर्सा प्रशासनद्वारा एकद्वार सेवा सुरु

नयाँ नागरिकतासँगै राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक, पर्सा प्रशासनद्वारा एकद्वार सेवा सुरु

पर्सा : जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीको सहजताका लागि नयाँ नागरिकता जारी गर्नासाथ तत्कालै राष्ट्रिय परिचयपत्रका लागि ‘बायोमेट्रिक’ गर्ने व्यवस्था सुरु गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले नयाँ नागरिकता लिने सेवाग्राहीलाई तत्कालै राष्ट्रिय परिचयपत्रको लागि ‘बायोमेट्रिक’ लिने व्यवस्था सुरुआत गरेको जानकारी दिए।

“जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता लिने सेवाग्राहीको लागि छुट्टै राष्ट्रिय परिचयपत्रको बनाउने स्टेशन थप गरेर बायोमेट्रिक लिने व्यवस्था गरेका छौँ”, उनले भने।

यसअघि नागरिकता लिएपछि राष्ट्रिय परिचयपत्रका लागि पुनः छुट्टै प्रक्रिया पुर्याउनुपर्ने र दोहोर्याएर कार्यालय धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न यो कदम चालिएको हो।

"यसअघि सेवाग्राहीले दोहोरो झन्झट बेहोर्नुपर्थ्यो", प्रजिअ दाहालले भने, "अबदेखि भने नयाँ नागरिकता बनाउने सेवाग्राहीको तत्कालै राष्ट्रिय परिचयपत्र बन्ने वातावरण बनेको छ। यसले पक्कै पनि सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज हुनेछ।"

प्रजिअ दाहालका अनुसार नयाँ नागरिकता लिएका सेवाग्राहीले कम्तीमा १०  मिनेटको समय दिएर ‘बायोमेट्रिक’ दिएपछि राष्ट्रिय परिचयपत्र पनि प्राप्त गर्न सक्नेछन्।

पर्सा जिल्लाबाट दैनिक नयाँ नागरिकता लिन ५० देखि ६० जना आउने गरेका छन्। यहाँ एकद्वार प्रणालीबाट नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण हुँदै आइरहेको कार्यालयले जनाएको छ।

प्रतिलिपि नागरिकता लिनेको हकमा भने केही समयपछि मात्रै सो व्यवस्था कार्यान्वयनमा आउने  प्रजिअ दाहालले जानकारी दिए।

वैशाख ३, २०८३ बिहीबार १३:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।