हिमालयन बैंक नक्कली भारूको कारोबारमा संलग्न रहेको भारतका पूर्व डिजीपीको दाबी
काठमाडौं : भारत उत्तर प्रदेशका पूर्व डिजीपी विक्रम सिंहले नेपालको हिमालयन बैंक नक्कली भारतीय रूपैयाँको कारोवारमा संलग्न रहेको गम्भीर दाबी आरोप लगाएका छन्।
सन् १९७४ ब्याचका आईपीएस अफिसर्स रहेका उनी सन् २००७ देखि सन् २००९ सम्म उत्तर प्रदेशको डिजीपीका रूपमा काम गरेका थिए। २०१० मा अवकाश पाएका उनले एक पडकास्टसँगको कुराकानीमा हिमालयन बैंकबारे गम्भीर दाबी गरेका हुन्।
संगठित अपराध नियन्त्रणमा अब्बल मानिएका उनले आरजे रौनकको पडकाष्ट उत्तर प्रदेशको संगठित अपराधबारे कुराकानी गरेका छन्। कुराकानीको केन्द्रमा छन्- अतिक अहमद।
अहमदबारे कुराकानीको क्रममा नक्कली भारतीय रूपैयाँको कारोबारमा पाकिस्तानको भूमिकाबारे छलफल गर्ने क्रममा उनले हिमालयन बैंकमाथि गम्भीर आरोप लगाउँछन्।
उत्तर प्रदेश र नेपालबीचको खुला सीमानाबाट कसरी अपराध भइरहेको भन्ने उदाहरण दिने क्रममा उनले पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा नेपालमा हिमालयन बैंक खोल्न नेपाल राष्ट्र बैंकले अनुमति दिएको र यसको उदेश्य पाकिस्तानमा छापिने नक्कली भारू भारतको उत्तर प्रदेशमा फैलाउने उदेश्य रहेको दाबी गरे।
हिमालयन बैंकले नेपाल-भारतको उत्तर प्रदेशसँग जोडिएको क्षेत्रमा शाखाहरू खोलेर पाकिस्तानको भागलपुरमा छापिने नक्कली भारू नेपाल भित्र्याएर हिमालयन बैंक मार्फत उत्तर प्रदेश छिराउने गरेको दाबी उनको छ।
उनले बैंकको शाखाबाट मुद्रा सटही गरेर भारतीय रूपैयाँ दिँदा एक सक्कली र चार नक्कली नोट दिने गरेको दाबी गरेका छन्।
उता उत्तर प्रदेशमा रहेको स्टेट बैंकको एक शाखामा ‘महाराजजी’ नाम गरेका व्यक्ति रहेको र उनी साधुको चरित्रमा रहे पनि नक्कली नोटलाई बैंकिङ च्यानमा छिराएर फैलाउन सक्रिय रहेको उनको भनाइ छ।
पछि छापा मार्दा उनीबाट करिब ४० करोडको सम्पत्ति निस्किएको उनको दाबी छ। उनले पडकास्टमा पाकिस्तानमा नक्कली भारू छापिने, त्यो पाकिस्तान एयरलाइन्स हुँदै नेपाल आउने र पाकिस्तानको रणनीति अनुसार नै हबिबको सहकार्यमा खुलेको हिमालयन बैंक हुँदै भारतको उत्तर प्रदेशमा फैलाउने गरेको दाबी गरेका छन्।
भारतमा नोटबन्दी लागू हुनु अघिसम्म नेपालमा नक्कली भारूको कारोबारी पक्राउ परिरहन्थे। पक्राउ परेकाहरूको सक्रियता र रूट उनले दाबी गरे जस्तै पाकिस्तानबाट पीआईए हुँदै दुबईबाट नेपाल आउने गरेको खुलेको थियो।
नक्कली भारू कारोबारीको आरोपमा पक्राउमा नेपालमा नेपाल प्रहरी र भारतको खुफिया एजेन्सीले सिक्रेट अप्रेशन चलाएर जमिम शाह लगायतको हत्या गराएको थियो।
नेपालमा विशेष ब्यूरोले नक्कली भारू कारोबारी विरूद्ध अप्रेशन चलाएर युनुस अन्सारी लगायतकालाई पक्राउ गरे पनि यसमा हिमालयन बैंक र पाकिस्तानको हबिब बैंक जोडिएको खुलेको थिएन।
यो विक्रम संवत् २०४९ मा हबिबसँगको संयुक्त लगानीमा खुलेको थियो। हबिबले हालै हिमालयन बैंकमा रहेको आफ्नो संस्थापक शेयर बिक्री प्रक्रिया अगाडि बढाएको थियो। उसको सेयर नेशनल लाइफ इन्स्योरेन्सले किन्न सम्झौता भएको थियो।
वैशाख ३, २०८३ बिहीबार ११:३९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।