निमन्त्रणापत्रमै ‘दाइजो मुक्त विवाह’ उल्लेख गर्न उपसभामुख ठाकुरको आग्रह
काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवाहका निमन्त्रणापत्रमा अनिवार्य रूपमा ‘दाइजो (दहेज) मुक्त विवाह’ उल्लेख गर्न समेत आग्रह गरेकी छन्।
हालैका दिनहरूमा प्राप्त भइरहेका विवाहका निमन्त्रणा पत्रहरूमा 'दहेज मुक्त विवाह' भन्ने सन्देश नदेखिएकोमा चिन्ता व्यक्त गर्दै उनले व्यक्तिगत र सामाजिक तहबाटै यसको बहिष्कार हुनुपर्नेमा जोड दिइन्।
उनले दाइजोमा आधारित विवाहमा उपस्थित हुन असमर्थ रहने स्पष्ट पार्दै समाजलाई दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाह अभ्यासतर्फ अग्रसर हुन आग्रह गरेकी छन्।
‘दाइजो लिनु वा दिनु मात्र होइन, त्यस्तो प्रथामा आधारित विवाहलाई स्वीकार गर्नु, कार्यक्रममा सहभागि हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय हुन्छ,’ उनले लेखेकी छन्।
उपसभामुख ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि गम्भीर असर पार्ने बताउँदै यसलाई अन्त्य गर्न सामूहिक पहल आवश्यक रहेको औँल्याएकी छन्।
उनले विवाह निमन्त्रणापत्रमा 'दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो' भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन अनुरोध गरेकी छन्।
वैशाख ३, २०८३ बिहीबार ११:३४:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।