भारतबाट सय रुपैयाँ बढीको सामान किने भन्सार शुल्क अनिवार्य, भैरहवाले उठाउन थाल्यो राजश्व

भारतबाट सय रुपैयाँ बढीको सामान किने भन्सार शुल्क अनिवार्य, भैरहवाले उठाउन थाल्यो राजश्व

रुपन्देही : घरायसी प्रयोजनका नाममा सीमावर्ती भारतीय बजारबाट नेपाल भित्रिने सय रुपैयाँ बढीको सामानमा अनिवार्य भन्सार महसुल लिन थालिएको छ। बिना भन्सार सामान भित्रिने क्रम बढेको भन्दै भैरहवा भन्सार कार्यालयले सयभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिन थालेको हो।

भन्सार कार्यालयले मुख्य नाका बेलहिया, सीमावर्ती बजार फरेनियालगायत अन्य साना नाकाहरूमा कडाइ गरिएको हो। सीमावर्ती बजारबाट एक सय रुपैयाँ बढीको समान ल्याए भन्सार महसुल बुझाउनु पर्ने भन्दै भन्सार नाकामा खटिएको सशस्त्र प्रहरीले माइकिङ गरिरहेको छ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुङ्गानाका अनुसार अघिल्लो हप्तादेखि नै सो व्यवस्थालाई पूर्ण रूपमा लागू गरिएको जानकारी छ। उनका अनुसार भारतीय बजारबाट फर्किने सर्वसाधारणलाई सम्झाइबुझाइ गर्दै १०० भन्दा बढी मूल्यका सामानमा भन्सार काट्ने काम भइरहेको छ।

“सुरुका दिनमा जानकारी अभावका कारण सर्वसाधारणबाट गुनासो आएको थियो, तर अहिले सीमा नाकामा माइकिङमार्फत सचेतना फैलाइएको छ”, उनले भने, “यो व्यवस्थाले ठूलो मात्रामा राजस्व वृद्धि नगरे पनि चुहावट नियन्त्रण र कानुनी शासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।”

करिब डेढ वर्ष अगाडि स्थानीय व्यवसायीहरूको अगुवाइमा भैरहवा भन्सार कार्यालयले यो व्यवस्था लागू गरेको थियो। तर लागू गरेको करिब चार महिनामै तीव्र विरोधका कारण कार्यान्वयन बलियो हुन सकेन।

वैशाख २, २०८३ बुधबार २२:०१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।