कार्की आयोगले कार्वाही गर्न भनेको सुरक्षा संयन्त्रबारे छानबिन गर्न समिति गठन, भदौ २४ को घटनाबारे छानबिन समिति बनेन

कार्की आयोगले कार्वाही गर्न भनेको सुरक्षा संयन्त्रबारे छानबिन गर्न समिति गठन, भदौ २४ को घटनाबारे छानबिन समिति बनेन

काठमाडौँ : सरकारले २०८२ भदौ २३ र २४ गते घटेको घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न नयाँ समिति गठन गरेको छ। बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरीका बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

सुशीला कार्की नेतृत्वको सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। सो आयोगले फागुन २४ मा बुझाएको प्रतिवेदनमा भदौ २३ बारे विस्तृत विवरणसहित कार्वाहीको सिफारिस गरेको थियो भने भदौ २४ को हकमा थप छानबिन गर्न सिफारिस गरेको थियो। आयोगको सिफारिस अनुसार प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारको मन्त्रीपरिषद्ले सुरक्षा संयन्त्रको हकमा थप सुझावका लागि समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।

सोही निर्णयको आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परे। तत्कालीन जिल्ला प्रशासन कार्यालयका प्रमुख छवि रिजाललाई पक्राउ गरेको थियो। ओली र लेखकको हकमा हिरासतमा राखिए पनि रिजालको हकमा तत्काल हाजिर जमानीमा रिहा गरेको थियो। पछि सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आएको आदेश अनुसार ओली र लेखक समेत हिरासतमुक्त भइरहेका छन् भने प्रहरीले उनीहरूबारे अनुसन्धान जारी रहेको दाबी गरिरहेको छ।

मन्त्रीपरिषद्ले भदौ २४ को घटनाबारे छानबिन गर्न अलग समिति गठनको निर्णय गरे पनि बुधवारको बैठकले त्यसबारे भने केही निर्णय गरेन। भदौ २३ को घटनामा जसरी तत्कालीन सत्ताधारीहरूको व्यवहार शंकास्पद देखिएको छ भदौ २४ को घटनामा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङसहितकाहरुको गतिविधि शंकास्पद देखिएको थियो।

वैशाख २, २०८३ बुधबार २०:११:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।