अबिरले राताम्मे थिमि : धिमेको ताल र चिरागको उज्यालोमा यसरी मनाइयो सिन्दुर जात्रा (तस्बिरहरू)

अबिरले राताम्मे थिमि : धिमेको ताल र चिरागको उज्यालोमा यसरी मनाइयो सिन्दुर जात्रा (तस्बिरहरू)

भक्तपुर : नयाँ वर्षको दोस्रो दिन बिहानै भक्तपुरको मध्यपुर थिमि पुग्दा लाग्थ्यो- सिङ्गो सहर रातो रङको कुण्डमा डुबेको छ। जता हेर्यो त्यता मानिसको विशाल भीड, भीडमा देखिने सबैका अनुहार र शरीर अबिरले पोतिएर राताम्मे!

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने सुथसिया अर्थात् ‘सिन्दुर जात्रा’मा आज बिहानैदेखि यस्तै दृश्य देखियो। बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म सिन्दुरको होली खेल्दै सडकमा छमछमी नाचिरहेका थिए।

जात्राको अग्रभागमा हातहातमा धपक्क बलेका चिराग (बत्ती) बोकेका पमा (नाइके) हरूको समूह देखिन्थ्यो। उनीहरूको पछि-पछि काँया, भुस्या र धिमे बाजाको गुञ्जायस थियो। त्यही परम्परागत बाजाको तालमा हजारौँ जात्रालुहरू झुम्दै र नाच्दै अगाडि बढिरहेका थिए।

परम्पराअनुसार ३२ वटा खट जात्रामा सहभागी गराउने चलन भए पनि यसपटक २६ वटा देवीदेवता विराजमान खटहरू टोलटोलबाट ल्याइए। बालकुमारी मन्दिर प्राङ्गणमा जब विष्णुवीर, सिद्धिकाली, दक्षिण बाराही लगायतका देवताका खटहरू प्रवेश गराएर परिक्रमा गराइयो, जात्राको उत्साह उत्कर्षमा पुगेको थियो।

जात्राको अर्को सुन्दर दृश्य घरका कौसी र झ्यालहरूमा थियो। जात्रा टोलका प्रत्येक चोक, चौबाटो र घर अगाडि पुग्दा स्थानीयले आफ्नो छत, कौसी र झ्यालबाट सिन्दुर र फूलको वर्षा गराएर देवताको खटलाई स्वागत गरिरहेका थिए। उडेको सिन्दुरले थिमिको आकाश नै रातो बनेको थियो।

जात्रामा अर्को रोचक दृश्य पनि देखियो। परम्पराअनुसार खटमा रहेका देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्वारमा पेंखा मुस्या, बालखुचा द्योलगायतका देवगणहरू बाटो छेकेर बसेका थिए।

बिहानैदेखि मध्यपुर थिमिका थिमि, नगदेश, बोडे र टिगनी क्षेत्रमा छुट्टाछुट्टै खटसहित सिन्दुर खेलेर सुरु भएको यो जात्रा मध्याह्नसम्म चल्यो। उल्लासमय सिन्दुर जात्रा सकिएसँगै अब भक्तपुरको ध्यान बोडेतर्फ मोडिएको छ, जहाँ आजै दिउँसो २ बजे परम्परागत ‘जिब्रो छेड्ने जात्रा’ हुँदैछ।

वैशाख २, २०८३ बुधबार १२:४०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।