ढिलासुस्ती रोक्न सञ्चार मन्त्रालयको नयाँ नियम: फाइल आएकै दिन काम सक्नुपर्ने

ढिलासुस्ती रोक्न सञ्चार मन्त्रालयको नयाँ नियम: फाइल आएकै दिन काम सक्नुपर्ने

काठमाडौं : सरकारी सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीले आफ्नो जिम्मेवारीमा आएका फाइल वा कामहरू सोही दिन, वा ढिलोमा भोलिपल्टसम्म अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ। 

अब कुनै पनि काम डेस्क वा प्रणालीमा आएको सोही दिन वा अर्को दिन सम्पन्न गरिसक्नुपर्नेछ। यदि तोकिएको समयमा काम हुन नसकेमा सम्बन्धित कर्मचारीले त्यसको ठोस कारणसहित तुरुन्त आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्नेछ।

नियम पालनाको सुनिश्चितताका लागि सबै कर्मचारीले लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ। यसको अनुगमन गर्ने जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ।

मन्त्रालयले कामको गति बढाउनुका साथै उपलब्ध स्रोत र साधनको प्रयोगमा समेत विशेष मितव्ययीता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ।


मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार यो नीतिले कर्मचारीलाई आफ्नो कार्यप्रति थप जिम्मेवार बनाउने र सेवाग्राहीले भोग्दै आएको ढिलासुस्ती अन्त्य गर्ने विश्वास लिइएको छ।

वैशाख २, २०८३ बुधबार १२:४०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।