अमेरिकाद्वारा इरानका बन्दरगाहमा पूर्ण नाकाबन्दी, समुद्री व्यापार ठप्प

अमेरिकाद्वारा इरानका बन्दरगाहमा पूर्ण नाकाबन्दी, समुद्री व्यापार ठप्प

एजेन्सी :  अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रमुख एडमिरल ब्राड कुपरले इरानका बन्दरगाहहरूमा पूर्ण रूपमा नाकाबन्दी लगाइएको बताएका छन्।

उनले मध्यपूर्वको जलक्षेत्रमा अमेरिकी सेनाले आफ्नो बलियो नियन्त्रण कायम राखेको जानकारी दिए।

यसअघि अप्रिल १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एउटा घोषणा गरेका थिए।

जसमा उनले हर्मुज जलमार्ग (हर्मुज स्ट्रेट) हुँदै आउजाउ गर्न खोज्ने सबै पानीजहाजलाई अमेरिकी नौसेनाले रोक्ने (नाकाबन्दी गर्ने) बताएका थिए।

यसै सन्दर्भमा सेन्टकम प्रमुख कुपरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानको अर्थतन्त्रको करिब ९० प्रतिशत हिस्सा समुद्रमार्फत हुने अन्तर्राष्ट्रिय व्यापारमा टिकेको छ।’

उनले थपेका छन्, ‘नाकाबन्दी लागू भएको ३६ घण्टाभित्रै अमेरिकी सेनाले इरान भित्रिने र त्यहाँबाट बाहिरिने सम्पूर्ण समुद्री व्यापारलाई पूर्ण रूपमा रोकिदिएको छ।’

अमेरिका र इरानबीच पछिल्लो समय तनाव निकै बढिरहेको छ। इरानको अर्थतन्त्रलाई कमजोर बनाएर उसलाई अमेरिकासँग वार्ता गर्न बाध्य पार्ने मुख्य उद्देश्यले अमेरिकाले यो कडा कदम चालेको मानिएको छ।

वैशाख २, २०८३ बुधबार ११:१८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।