नेपालका चाडपर्व विज्ञान र प्रकृतिसम्मत छ : संस्कृतिविद् गुरुङ

नेपालका चाडपर्व विज्ञान र प्रकृतिसम्मत छ : संस्कृतिविद् गुरुङ

काठमाडौं : संस्कृतिविद् डा जगमान गुरुङले नेपालका चाडपर्व, रीतितिथि तथा संस्कृति विज्ञान र प्रकृतिसम्मत भएको बताएका छन्।

नयाँ वर्ष २०८३ का सन्दर्भमा नेपालको मौलिक संस्कृति, परम्परा, प्रकृति र समाजको अन्तरसम्बन्धका विषयमा राससका प्रकाश सिलवालसँगको संवादमा प्राज्ञ गुरुङले विक्रम संवत् विक्रमादित्यभन्दा पुरानो समयदेखि चलेको बताउँदै यी संवत् र परम्पराहरु विज्ञानसम्मत भएको तर्क गरे।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका गुरुङले नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिने उल्लेख गरे।

वसन्त ऋतुको समय भएकाले बिरुवा उम्रने र पालुवाहरु पलाउने समय पनि भएकाले प्रकृतिले पनि नयाँपन पाउने सुन्दर समय भएको उनले बताए।

‘सबैभन्दा पुरानो संवत्का रूपमा विक्रम संवत् स्थापित छ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी पृथ्वीको उत्तरी गोलार्धमा पुगेर मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति पनि हो’, डा. गुरुङले भने।

उनले थपे, ‘सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत संवत् हो। सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले यो वैज्ञानिकतामा आधारित छ।’

डा गुरुङसँगको संवाद राससको भिडियो सेवाबाट उपलब्ध हुनेछ।

वैशाख १, २०८३ मंगलबार १२:४५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।