टोखाको डेरामा १४ वर्षीया बालिका बलात्कृत, ‘औषधि खाऊ’ भन्ने ह्वाट्सएप म्यासेज नै बन्यो अरुणविरुद्धको मुख्य प्रमाण

टोखाको डेरामा १४ वर्षीया बालिका बलात्कृत, ‘औषधि खाऊ’ भन्ने ह्वाट्सएप म्यासेज नै बन्यो अरुणविरुद्धको मुख्य प्रमाण

काठमाडौं : सामाजिक सञ्जालमार्फत चिनजान गरी प्रेममा पारेर १४ वर्षीया नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा १८ वर्षीय एक युवकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले रामेछाप मन्थली घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने १८ वर्षीय अरुन गौतम भन्ने अरुण गौतमविरुद्ध १२ देखि १४ वर्षसम्मको कैद सजाय माग गर्दै अभियोग पत्र दायर गरेको हो।

मिसिलमा संलग्न तथ्यहरूका अनुसार, गौतम अरुण गौतम र पीडित बालिकाबीच करिब डेढ महिनाअघि बाटोमा हिँड्ने क्रममा पहिलो पटक भेट भएको थियो। गौतम काठमाडौंको हेराल्ड इन्टरनेसनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन्।

बाटोमा सामान्य बोलचाल भएपछि उनीहरूले फोन नम्बर साटासाट गरेका थिए र त्यसपछि फेसबुक इन्स्टाग्राम तथा ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा उनीहरू नियमित सम्पर्कमा रहन थाले। सुरुवाती दिनहरूमा उनीहरू ३-४ पटक विभिन्न ठाउँमा घुम्न समेत गएको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रका अनुसार फागुन २६ गते राती गौतमले उनलाई भेट्न बोलाएका थिए। रातको समय भएकाले बाहिर निस्कन नसक्ने बताएपछि गौतमले ‘तिमी आएनौ भने तिम्रो परिवार र सबैलाई मारिदिन्छु र म पनि मर्छु’ भन्दै धम्की दिएका थिए।

परिवारको सुरक्षाको डरले बालिका घरबाट निस्किएर गौतमको बाइकमा चढेकी थिइन्। गौतमले उनलाई टोखा नगरपालिका वडा नं. ५ स्थित आफ्नो डेरा कोठामा पुर्याएका थिए।

त्यहाँ पुगेपछि गौतमले बालिकाको इच्छा विपरीत संवेदनशिल अङ्गमा छुन खोजेको र बालिकाले प्रतिकार गर्दा भान्साको चक्कु देखाएर हात काटिदिने धम्की दिएको पीडितको बयानमा उल्लेख छ। चक्कु फालेपछि पनि गौतमले मुख र घाँटी थिचेर बालिकालाई रातभरमा दुई पटक बलात्कार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

गौतमले बालिकालाई पठाएको ह्वाट्सएप म्यासेजलाई सरकारी वकिलले प्रमुख प्रमाणको रूपमा पेश गरेका छन्। वारदातको भोलिपल्ट गौतमले बालिकालाई सामाजिक सञ्जालमा म्यासेज गरी गर्भनिरोधक औषधि खान दबाब दिएका थिए।

अभियोग पत्रमा उल्लेख भएअनुसार गौतमले अङ्ग्रेजीमा बालिकालाई ‘एउटा मेडिसिन पनि खाउ हिजोको लागि। २४ घण्टाभित्र खानुपर्छ के डियर। अब तिम्रो मर्जी मैले किनेर राख्दिसकेँ। त्यति तल आएर लिन पनि सक्दैनौ?’ भन्ने म्यासेज गरेका थिए।

अनुसन्धान अधिकारीहरूका अनुसार, गौतमले बयानका क्रममा करणीको कुरा अस्वीकार गरे तापनि ‘हिजोको लागि औषधि खाऊ’ भनी पठाएको यो म्यासेजले शारीरिक सम्बन्ध भएको तथ्यलाई पुष्टि गर्दछ।

गौतमको बयान र दाबीगौतम अरुण गौतमले प्रहरी र सरकारी वकिलसमक्ष दिएको बयानमा बालिकालाई आफ्नो कोठामा ल्याएको कुरा स्वीकार गरेका छन्।

तर, उनले करणीको आरोप भने अस्वीकार गरेका छन्। उनले बयानमा राती घुम्न जाँदा ढिलो भएको र बालिकाको घरको ढोका बन्द भएकाले उनलाई आफ्नो कोठामा ल्याएको र दुवै जना सामान्य कुराकानी गरेर सुतेको दाबी गरेका छन्।

बिहान ५ बजेतिर आफूले बालिकालाई घर नजिकै छोडिदिएको उनको भनाइ छ। कानुनी व्यवस्था र सजायको मागदावीबालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा उनको ‘हाइमेन’मा पुरानो चोट देखिएको उल्लेख छ।

यद्यपि गौतमले इन्कारी बयान दिएका छन्, तर पीडितको बयान, मौकामा बुझिएका मानिसहरूको कागज र डिजिटल प्रमाण (ह्वाट्सएप म्यासेज र अडियो) का आधारमा करणी भएको पुष्टि हुने सरकारी वकिलको ठम्याइ छ।

लुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग मञ्जुरीमै करणी गरे पनि त्यो बलात्कार मानिन्छ। पीडित बालिकाको उमेर घटनाक समयमा १४ वर्ष १ महिना मात्र रहेको देखिएकाले गौतमलाई कडा सजायको माग गरिएको छ।

अभियोग पत्रमा १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरकी बालिका भएकाले १२ वर्षदेखि १४ वर्षसम्म कैद, थप ५ लाख रुपैयाँ जरिवाना तथा गौतमबाट जरिवाना बापतको रकम र अन्य मनासिब क्षतिपूर्ति पीडितलाई भराई दिन माग गरिएको छ।

वैशाख १, २०८३ मंगलबार ११:१५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।