ओलीका प्रशंसक थिए सस्मितका बुवा, तेस्रो नम्बरमा सिफारिस भए पनि बनेका थिए बीमा बोर्डको कार्यकारी निर्देशक

ओलीका प्रशंसक थिए सस्मितका बुवा, तेस्रो नम्बरमा सिफारिस भए पनि बनेका थिए बीमा बोर्डको कार्यकारी निर्देशक

काठमाडौं : स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि भएको छनौट समितिले पाँचमध्ये तीन जनाको नाम सिफारिस गर्यो।

लोक सेवा आयोगले आवेदकको प्रस्तुतिको आधारमा निर्देशकका लागि पहिलो नम्बरमा बीमा विज्ञ डा.दामोदर बसौलालाई सिफारिस गरेको थियो। उनले बीमा विषयमा विद्यावारिधि  गरेका थिए।

दोस्रो नम्बरमा बीमा समितिका पूर्व निमित्त प्रमुख कार्यकारी श्रीमान् कार्की थिए। तेस्रो नम्बरमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका रमेश कुमार पोखरेल।

एमाले नेतृत्वको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली थिए। बोर्डको प्रावधान अनुसार लोकसेवाले प्रक्रिया पुर्याएर मेरिटसहित तीन जनाको नाम सिफारिस गरे पनि २०७५ मंसिर १७ मा मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा रहेका पोखरेललाई नियुक्त गर्यो।

पोखरेल नियुक्त भए पनि पूरै कार्यकाल भने काम गर्न पाएनन्। उनको कार्यक्षमताबारे प्रश्न उठाउँदै दुई पटक लिखित स्पष्टीकरण सोधिएपछि उनले २०७७ असार २२ मा राजीनामा दिए।

सिफारिस पारदर्शी बनाउन खुल्ला प्रतिष्पर्धा र लोकसेवाको छनोट भए पनि सिफारिस भएका तीनमध्ये कसलाई नियुक्त गर्ने त्यो मन्त्रिपरिषद्को तजविजी अधिकार थियो।

त्यही अधिकार प्रयोग गरेर ओली नेतृत्वको सरकारले तेस्रो नम्बरमा सिफारिस र स्वास्थ्य बीमासँग नजोडिए पनि पोखरेललाई नियुक्त गर्यो।

बोर्डबाट राजीनामा दिएपछिका उनका अन्तर्वार्ताबाट उनी ओलीसँग प्रभावित देखिए। देखापढी अन्तर्वार्तामा उनले ‘तीनजनामध्ये आफूलाई प्रधानमन्त्रीले भरोसा गरेर जिम्मेवारी दिएको, म पनि प्रधानमन्त्रीको स्पिरिटसँग हिड्न सक्ने मान्छे हुँ, उहाँको भावनामा तलमाथि पार्दिन भनेर हिँडेको’ बताएका छन्।

बीमा बोर्डको नेतृत्व गरेर सुधारको काम गरिरहेको र केही नतिजा पनि आएको दाबी गर्दै उनले पहिलो पटक स्पष्टीकरण सोधिए पनि सबैलाई सोध्दा नाम परेको भनेकाले काम गरेको तर पुन: दोस्रो पटक पनि स्पष्टीकरण सोधिएपछि आत्मसम्मानमा ठेस लागेकाले राजीनामा दिएको दाबी गरेका छन्।

उनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै सोधिएको स्पष्टीकरणमा उनले माफिया कारण देखाएका थिए।

आफूलाई बोर्डका सदस्य र स्वास्थ्य मन्त्रालयबाट समेत असहयोग भएको भन्दै भनेका थिए- ‘स्वास्थ्य क्षेत्रमा थोरबहुत माफियाको चलखेल हुने र आफ्नो पकडमा लिने हिजो पनि थियो। मेरो विषयमा पनि त्यही आभास भएपछि किन व्यवधान गर्ने भनेर राजीनामा दिएँ।’

उनै पोखरेल अहिले छोरा सस्मित पोखरेलले शिक्षामन्त्रीका रूपमा सार्वजनिक गरेको सम्पत्ति विवरणका कारण चर्चामा छन्। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि सस्मितले आफूलाई आफ्नो बुबाप्रति गर्व रहेको र सम्पत्ति इमान्दार कमाइ रहेको लेखेका छन्।

‘मेरो बुवाको सन्दर्भमा पनि स्पष्ट पार्न चाहन्छु। उहाँले नेपाल राष्ट्र बैंक मा करिब ३० वर्ष सेवा गर्नुभयो र कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गर्नुभयो,’ उनले लेखेका छन्, ‘उहाँ अन्तर्राष्ट्रिय मुद्रा कोष, वाशिङ्टन डीसीमा एक्जुकेटिभ डाइरेक्टरका सल्लाहकारका रूपमा समेत कार्यरत रहनुभएको थियो। उहाँको उच्च नैतिकता र इमान्दारिताप्रति म सधैँ गर्व गर्छु, र यही मूल्यहरूले मलाई पनि मार्गदर्शन गरेका छन्।’

वैशाख १, २०८३ मंगलबार १०:५९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।