नयाँ वर्ष २०८३ को पहिलो दिन राष्ट्रपति, प्रधानमन्त्रीदेखि ओली र गगनले के भने?
काठमाडौं : नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष राजनीतिक नेतृत्वले देशको समृद्धि, सुशासन र राष्ट्रिय एकताका लागि एकजुट हुन आह्वान गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई देशको साझा राष्ट्रिय लक्ष्य निर्धारण गर्ने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा लिनुपर्ने बताएका छन्।
हालैको निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आदर्श, सुशासन र सामाजिक न्यायप्रति प्रतिबद्ध रहन जोड दिएका छन्।
त्यसैगरी, उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्ष नौलो कामको थालनी र सकारात्मक सोचको अवसर भएको बताएका छन्।
उनले नववर्षसँगै मनाइने 'सतुवाइन', 'जुड्शीतल', 'सिरुवा पावनी' र 'विस्काजात्रा' जस्ता पर्वले सांस्कृतिक विविधता र राष्ट्रिय एकतालाई जीवन्त राख्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले 'सर्वे भवन्तु सुखिनः' अर्थात् 'सबैको कल्याण होस्' भन्ने श्लोक स्मरण गर्दै सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेका छन्।
यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर मुलुक र जनताको हितमा सहकार्य गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेका छन्। उनले उपलब्धिको रक्षा गर्दै सुशासन र आर्थिक विकासको मार्गमा अघि बढ्नुपर्ने बताएका छन्।
यस्तै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८२ सालका सफलता र कमजोरीलाई इतिहासका रूपमा समीक्षा गर्दै नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक समन्वय (सिनर्जी) सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
वैशाख १, २०८३ मंगलबार ०७:३८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।