एनआरएन अध्यक्ष उम्मेदवारका अजेण्डा : १० अर्बको कोषदेखि श्रम तथा सीप बैंकसम्म

एनआरएन अध्यक्ष उम्मेदवारका अजेण्डा : १० अर्बको कोषदेखि श्रम तथा सीप बैंकसम्म

काठमाडौँ : ११ औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए आफ्नो कार्यकालमा गर्ने कामहरूको सार्वजनिक गर्दै पाँच जना गैर आवासीय नेपालीका नेताहरू निर्वाचनको मैदानमा छन्।

असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि बद्री केसी, रविना थापा, महेश श्रेष्ठ, आरके शर्मा र विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। घोषणासँगै उनीहरूले आ-आफ्नो प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका थिए।

सबै उम्मेदवारहरूले सङ्गठनको छवि धुमिल हुँदै गएकाले प्रतिष्ठा कायम गरेर अगाडि बढ्ने दाबी गरेका छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीको हित, गैर आवासीय नेपालीका लागि नागरिकताको सहजीकरणसँगै विदेशी नागरिक भइसकेकाहरूको नेपालमा रहेको सम्पत्तिको सुरक्षालाई समेत अजेण्डा बनाएका छन्।

मैदानमा पाँच जना भए पनि बद्री केसी र महेश श्रेष्ठ प्रतिपक्षी दल र सत्ताधारीको उम्मेदवार बनेर प्रतिस्पर्धा गर्ने सम्भावना देखिन्छ। काग्रेस, माओवादीबाटै अन्यले पनि उम्मेदवारी दिएका छन्।

तर श्रेष्ठको उम्मेदवारी घोषणा कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष जिबा लामिछाने, भवन भट्ट, कुमार पन्तले शुभकामना पठाएर उनी नै कांग्रेस-माओवादीबाट संयुक्त उम्मेदवार बन्ने सङ्केत दिइसकेका थिए। उता डा बद्रीको पक्षमा यस अगाडि नै एमाले खुलिसकेको छ।

कसको अजेण्डा के?

‘१० अर्बको सामूहिक लगानी कोषको तत्काल कार्यान्वयन’

महेशकुमार श्रेष्ठ

सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए बनाउने मेरो अजेण्डा हो। गैर आवासीय नेपालीहरूको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरु गरिएको १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने, न्यूनतम २५० डलर लगानीको अवसर प्रदान गर्ने मेरो सोच छ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउन पहल गर्छु।

श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउन पहल गर्छु। गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने अवसर मिलिरहेकाले सोलाई कार्यान्वयनलाई सहज बनाउन पहल गर्छु।

‘श्रम तथा सीप बैङ्क स्थापनाका लागि पहल’

डा बद्री केसी

सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीमा मेरो जोड छ। वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र  मर्यादित  बनाउन नेपाल सरकार, श्रम गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्नेछु।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने,  विदेशको श्रम बजारमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोष तथा पेन्सन फण्डमा सहभागी गराउन पहल, अन्तर्राष्ट्रिय श्रम बजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी छुट्टै श्रम तथा सीप बैङ्क स्थापनाका लागि पहल गर्ने छु।

गैर आवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाका लागि कानुनी व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गर्ने,  नेपालीहरूको बाक्लो उपस्थिति भएका देशहरूमा दूतावास स्थापना गर्न तथा दूतावास स्थापना गर्न सम्भव नभएका मुलुकमा कन्सुलेट कार्यालयको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने छु।

‘राष्ट्रिय योजना आयोगसँग सहकार्य’

विनय अधिकारी

विकासको मूल प्रवाहमा गैर आवासीय नेपालीलाई आबद्ध गर्न राष्ट्रिय योजना आयोगसँग सहकार्य गर्नेछु। विदेशमा पढिरहेका विद्यार्थीलाई इन्टरसिपमा नेपाल पठाएर ज्ञान र सीपको उपयोग गर्ने वातावरण बनाउने छु।

‘बाँकी काम पुरा गर्न अध्यक्षमा उम्मेदवारी’

रविना थापा

अघिल्लो कार्यकालमा ६ महिना मात्रै अध्यक्ष भएकाले फेरि पनि अध्यक्ष बनेर आफ्ना बाँकी रहेका कार्ययोजनाहरु पुरा गर्नेछु। सुरुदेखि नै अघि सारेको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने चरणमा पुगेको छ।

विभिन्न ठुला विकसित देशमा द्विदेशीय नागरिकताको प्रावधान भएका बेला नेपालमा पनि नागरिकता निरन्तर कायम रहने विषय प्रमुखताका साथ लिएर अगाडी बढ्छु। गैर आवासीय नागरिकताको व्यवस्था पछि मताधिकारसहित अरू अधिकारका लागि पहल गर्छु।

‘फुटेको होइन, जुटेको एनआरएन बनाउँछु’

राजेन्द्रकुमार (आरके) शर्मा

सिङ्गो गैर आवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजानेछु। फुटेको होइन, जुटेको एनआरएन बनाउँछु। मैले आइसिसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्न अनुभव कमाइसकेको छु। त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु।

( उम्मेदवारहरुले सार्वजनिक गरेको प्रतिबद्धता पत्र)

असोज २९, २०८० सोमबार १८:२१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।