जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको मानसिक स्वास्थ्य र पढाइमा असर गर्छ : अध्ययन
एजेन्सी : अत्यधिक जङ्क फुड तथा चिनीको मात्रा बढी भएका पेय पदार्थको सेवनले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य, बौद्धिक क्षमता र शैक्षिक उपलब्धिमा नकारात्मक असर पार्ने एक नयाँ अध्ययनले देखाएको छ।
अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अस्ट्रेलियामै गरिएका १७ वटा विभिन्न अध्ययनहरूको व्यवस्थित समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेका हुन्।
वैज्ञानिक जर्नल ‘करन्ट न्युट्रिसन रिपोट्र्स’ मा प्रकाशित उक्त अध्ययनअनुसार पोषणतत्त्व कम भएका तर उच्च ऊर्जा दिने जङ्क फुड र चिनीजन्य पेय पदार्थको अत्यधिक प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्य, समग्र कल्याण र शैक्षिक नतिजामा नसमग्र कल्याण र विद्यालयको नतिजामा नकारात्मक प्रभाव पार्न सक्ने देखाएको छ।
अनुसन्धानले अस्वस्थ खानपान र बालबालिकाको मानसिक स्वास्थ्य तथा शैक्षिक प्रदर्शनबीच सम्बन्ध रहेको देखाएको हो।
बाल्यकाल र किशोरावस्था शारीरिक तथा मानसिक विकासका महत्त्वपूर्ण चरण भएकाले यस समयमा सन्तुलित र पोषणयुक्त आहार आवश्यक हुने अध्ययनले औँल्याएको छ।
यसको विपरीत फलफूल, तरकारी, साबुत अन्न, समुद्री खाद्य पदार्थ, गेडागुडी तथा दुग्धजन्य पदार्थ समावेश भएको सन्तुलित आहारले बालबालिकाको वृद्धि र विकासमा सहयोग पुर्याउने अनुसन्धानले जनाएको छ। यस्ता खाद्य पदार्थमा पाइने आवश्यक भिटामिन तथा खनिजले बालबालिकाको शारीरिक विकास, मस्तिष्कको कार्यक्षमता र समग्र स्वास्थ्यलाई सहयोग गर्ने अध्ययनमा उल्लेख छ।
अध्ययनका प्रमुख लेखक जेगेये अबेबे अबिटेवले अतिरिक्त चिनी, नुन, स्याचुरेटेड फ्याट र रासायनिक तत्त्व मिसिएका जङ्क फुडको सेवन घटाएर सानै उमेरदेखि स्वस्थ खानपानको बानी बसाल्नुपर्नेमा जोड दिएका छन्। बाल्यकालको खानपानले भविष्यको दीर्घकालीन स्वास्थ्यसमेत निर्धारण गर्ने भएकाले विद्यालय तथा समुदायस्तरमा पोषण शिक्षा विस्तार गर्न र विपन्न परिवारको पहुँचमा स्वस्थ खाना पुर्याउन नीतिगत पहल आवश्यक रहेको अनुसन्धानकर्ताहरूको सुझाव छ।
विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले पनि पर्याप्त पोषणयुक्त खाना प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने अनुसन्धानकर्ताहरूले जोड दिएका छन्। बालबालिकालाई सानै उमेरदेखि पोषणयुक्त खाना खाने बानी बसाल्न र जंक फुडको सेवन नियन्त्रण गर्न आवश्यक रहेको अध्ययनले औँल्याएको छ ।
मंसिर २, २०८३ बुधबार १७:४७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।