सरकारी सेवाबाट अवकाश पाएकाहरूलाई दुई वर्षसम्म कानुन व्यवसायमा रोक

सरकारी सेवाबाट अवकाश पाएकाहरूलाई दुई वर्षसम्म कानुन व्यवसायमा रोक

काठमाडौं : नेपाल कानुन व्यवसायी परिषद्ले सरकारी सेवाबाट अवकाश पाएका पदाधिकारी तथा कर्मचारीहरूलाई सेवा निवृत्त भएको दुई वर्षसम्म कानुन व्यवसायमा प्रवेश गर्न रोक लगाएको छ।

सेवाबाट अवकाश पाए लगत्तै कानुन व्यवसायमा प्रवेश गर्दा उत्पन्न हुन सक्ने ‘स्वार्थको द्वन्द्व’ रोक्न तथा न्यायिक निष्पक्षता कायम राख्न परिषद्ले दुई वर्षे ‘कुलिङ अफ पिरियड’को व्यवस्था गरेको हो।

परिषद्ले ‘कुलिङ अफ पिरियड’ लागु गरेसँगै अब सरकारी सेवाबाट अवकाश पाएका कुनै पनि पदाधिकारी वा कर्मचारीले सेवा अवधि सकिएको मितिले दुई वर्ष पूरा नभएसम्म कानुन व्यवसायीको प्रमाणपत्र अद्यावधिक गर्न पाउने छैनन्। उनीहरूले सेवा निवृत्त भएको दुई वर्षपछि मात्रै कानुन व्यवसायको अभ्यासका लागि प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ।

यसअघि सरकारी जिम्मेवारीबाट निवृत्त हुने बित्तिकै वकालत पेसामा सक्रिय हुँदा न्यायिक प्रक्रियामा पूर्व पहुँचको दुरुपयोग हुनसक्ने र यसले न्याय सम्पादनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको गुनासो थियो। मंसिर १ गते बसेको परिषद्को बैठकले ‘कुलिङ अफ पिरियड’ लागु गर्ने निर्णय गरेसँगै अब सरकारी सेवा त्यागेका वा निवृत्त भएका व्यक्तिहरूले वकालत सुरु गर्न अनिवार्य रूपमा दुई वर्ष पर्खनुपर्ने भएको छ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको सेवामा स्थायी नियुक्ति पाई कार्यरत निजामती कर्मचारी, न्यायाधीश वा न्याय सम्पादनको कार्यमा संलग्न व्यक्ति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेनामा कार्यरत व्यक्तिका साथै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट पारिश्रमिक लिने विद्यालयका स्थायी शिक्षक तथा अन्य कर्मचारीमा ‘कुलिङ अफ पिरियड’ व्यवस्था लागू हुने सूचनामा उल्लेख छ।

मंसिर ८, २०८३ मंगलबार १९:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।