सल्यानको सामुदायिक वनको ओडारमा लुकाइराखिएका ८ नाल भरुवा बन्दुक बरामद

सल्यानको सामुदायिक वनको ओडारमा लुकाइराखिएका ८ नाल भरुवा बन्दुक बरामद
फाइल तस्बिर

काठमाडौं : सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित एक सामुदायिक वनको ओडारमा लुकाइराखिएको अवस्थामा प्रहरीले ८ नाल भरुवा बन्दुक बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले बनगाड कुपिण्डे-१० भवटीस्थित सामुदायिक वनको ओडारबाट मंगलबार दिउँसो उक्त संख्यामा हतियार फेला पारेको हो।

कार्यालयका अनुसार ओडारभित्र लुकाइएको अवस्थामा फेला परेका हतियारमध्ये ७ नाल साबुत र १ नाल बेसाबुत रहेका छन्। वनको एकान्त ओडारमा हतियार लुकाइएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उक्त परिमाणको बन्दुक नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सबै भरुवा बन्दुकहरूलाई आवश्यक कानूनी कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको छ। उक्त हतियार कसले, कहिले र कुन प्रयोजनका लागि ओडारमा लुकाएको थियो भन्नेबारे कुनै खुल्न सकेको छैन। त्यसबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर ८, २०८३ मंगलबार १७:३७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।