एनपीएल फाइनल प्रिभ्यू : पछिल्ला तीन भेटमा १०५ रन कटाउन नसकेको सुदूरपश्चिमले लुम्बिनीको बलिङ तोड्ला? (भिडियो)

एनपीएल फाइनल प्रिभ्यू : पछिल्ला तीन भेटमा १०५ रन कटाउन नसकेको सुदूरपश्चिमले लुम्बिनीको बलिङ तोड्ला? (भिडियो)

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि छिनोफानो आज शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। साँझ ५ सुरु हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र लगातार तेस्रोपटक फाइनल यात्रा तय गरेको सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

पहिलो सिजनमा पुछारमा सीमित भएर दोस्रो सिजनमा एलिमिनेटर हुँदै च्याम्पियन बनेको लुम्बिनी यसपटक सिधै क्वालिफायर-१ जितेर उपाधि रक्षा गर्ने दाउमा छ।

अर्कोतर्फ, अघिल्ला दुई सिजनमै फाइनलमा हारेको सुदूरपश्चिम यसपटक पहिलोपटक क्वालिफायर-२ बाट सङ्घर्षपूर्ण पुनरागमन गर्दै पहिलो उपाधिको खडेरी तोड्न र लुम्बिनीसँग पुरानो हारको बदला लिन चाहन्छ। आईसीसीको आधिकारिक टी–२० मान्यता र डीआरएस प्रणालीसहित आयोजित यस संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

हेड-टु-हेडमा लुम्बिनीको ह्याट्रिक
एनपीएल इतिहासमा लुम्बिनी र सुदूरपश्चिमबिच हालसम्म कुल ५ खेल भएका छन्, जसमा लुम्बिनी ३-२ ले अगाडि छ। पहिलो र दोस्रो सिजनका लिग चरणका खेलमा सुदूरपश्चिम हाबी देखिए पनि त्यसपछिका तीनवटै खेलमा लुम्बिनीले एकतर्फी जित निकाल्दै ह्याट्रिक पूरा गरेको छ।

पहिलो सिजन (२०२४) मा १८७/४ को योगफल खडा गर्दै सुदूरपश्चिमले लुम्बिनीलाई १४२/९ मा रोकेर ४५ रनको जित निकालेको थियो भने दोस्रो सिजनको लिग चरणमा १४३ रनको लक्ष्य पछ्याउँदै ७ विकेटले विजयी भएको थियो।

तर, दोस्रो सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गर्दै ६ विकेटको सानदार जित निकाल्यो।

उक्त फाइनलमा रोहितकुमार पौडेलले ह्याट्रिकसहित ३/१२, रुबेन ट्रम्पेलम्यानले ३/३ र शेर मल्लले ३/१८ को घातक बलिङ गरेपछि दिनेश अधिकारीको १३ बलमा ४२ रनको आक्रामक ब्याटिङको मद्दतमा लुम्बिनीले ९ ओभरमै ८६/४ बनाउँदै उपाधि जितेको थियो।

तेस्रो सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीले किशोर महतोको ४ विकेट र शेर मल्लको ३/११ को मद्दतमा सुदूरपश्चिमलाई ८७ रनमै समेट्दै डार्सी सर्टको १८ बलमा ४० रनको इनिङ्समा ९.५ ओभरमै ७ विकेटको सहज जित दर्ता गर्यो।

चार दिनअघि सम्पन्न क्वालिफायर-१ मा समेत सुदूरपश्चिमलाई १०५/८ मा रोक्दै लुम्बिनीले निरोशन डिक्वेलाको अविजित ५९ रनको मद्दतमा १६.४ ओभरमै १०८/४ बनाएर ६ विकेटले खेल जितेको थियो।

पछिल्ला तीनवटै भेटमा सुदूरपश्चिमले लुम्बिनीसामु १०५ रनभन्दा माथि स्कोर बनाउन सकेको छैन। स्वयं सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि पावरप्लेमा लगातार विकेट गुमाउनु नै लुम्बिनीविरुद्धको मुख्य कमजोरी रहेको स्वीकारेका छन्।

फाइनलसम्मको यात्रा र टिम प्रस्तुति
लिग चरणका ७ खेलमा ५ जित, १ हार र १ नतिजाविहीन खेलसहित ११ अङ्कका साथ शीर्ष स्थानमा रहँदै लुम्बिनी लायन्स क्वालिफायर-१ मा पुगेको थियो। क्वालिफायर-१ मा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी सिधै फाइनल प्रवेश गरेको हो।

कुनै एक स्टारमा निर्भर नभई प्रत्येक खेलमा फरक-फरक म्याच विनर निस्कनु लुम्बिनीको बलियो पक्ष हो। रोचक त के छ भने लिग चरणभरि एक जनाले पनि अर्धशतक नबनाई शीर्ष स्थानमा पुगेको लुम्बिनीका लागि क्वालिफायर-१ मा मात्र निरोशन डिक्वेलाले अविजित ५९ रन बनाउँदै सिजनको पहिलो अर्धशतक प्रहार गरे।

अर्कोतर्फ, एनपीएलका तीनवटै संस्करणको फाइनल पुग्ने एक मात्र टोली सुदूरपश्चिम रोयल्स लिग चरणका ७ खेलमा ५ जित र २ हार बेहोर्दै १० अङ्कसहित दोस्रो स्थानमा रह्यो।

क्वालिफायर-१ मा लुम्बिनीसँग पराजित भएपछि क्वालिफायर-२ मा चितवन राइनोजविरुद्ध १३४ रनको लक्ष्य १९.५ ओभरमा ७ विकेट गुमाएर ३ विकेटको रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम फाइनलमा आइपुगेको हो।

ब्याटिङमा शीर्ष क्रम अस्थिर रहे पनि जनकपुरविरुद्ध १२० र काठमाडौंविरुद्ध १२५ रनको सानो लक्ष्य जोगाउनु तथा काठमाडौंविरुद्ध ८ रनमा ४ विकेट गुमेको नाजुक स्थितिबाट खेल जित्नुले सुदूरपश्चिमको जुझारुपन पुष्टि गर्छ।

प्रमुख खेलाडीहरूको प्रदर्शन
जारी सिजनमा लुम्बिनी लायन्सका मुख्य ब्याटरका रूपमा विकेटकिपर निरोशन डिक्वेला देखिएका छन्। ७ इनिङ्समा १ सय ५० रन बनाउँदै उनी टोलीको शीर्ष रनकर्ता बनेका छन् भने क्वालिफायर-१ मा विकेटपछाडि २ क्याच र १ रनआउटसमेत गरेका थिए।

यस्तै, अस्ट्रेलियन अलराउन्डर डार्सी सर्टले ७ इनिङ्समा १३८.३२ को स्ट्राइक रेटमा १ सय ४८ रन बनाउनुका साथै बलिङमा ५ विकेट लिएका छन्।

कप्तान रोहितकुमार पौडेल इनिङ्स सम्हाल्ने भरपर्दा ब्याटर हुन्। उनले ७ इनिङ्समा १ सय २१ रन र बलिङमा ४ विकेट लिएका छन्। ओपनर आसिफ शेखले ७ इनिङ्समा १ सय ११ रन जोडेका छन्, जसमा विराटनगरविरुद्ध ४५ र सुदूरपश्चिमविरुद्ध ३२ रनको इनिङ्स सामेल छ।

मध्य र तल्लो क्रममा सन्दीप जोरा र दिलीप नाथले फिनिसिङ सम्हालेका छन्। बलिङतर्फ शेर मल्ल ७ खेलमा ११ विकेट, रुबेन ट्रम्पेलम्यान ६ खेलमा १० विकेट, किशोर महतो ७ खेलमा ९ विकेट र अभिशेष गौतम ५ खेलमा ७ विकेट लिँदै अत्यन्त प्रभावशाली र किफायती साबित भएका छन्।

उता, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी ९ खेलमा ३ अर्धशतकसहित २ सय १७ रन र ६ विकेट लिएर टोलीको मेरुदण्ड बनेका छन्। सक्रिय फाइनल खेलाडीमध्ये उनी सर्वाधिक रनकर्ता हुन् भने समग्र प्रतियोगितामा पोखराका युवराज सामरा २९४ रनसहित शीर्ष स्थानमा छन्।

दुई फाइन पुगेका टिमका शुक्रबारको क्याप्टेन्स मिटपछि।

क्वालिफायर-२ का नायक थारिन्दु रत्नायकेले ब्याटिङबाट कुल १ सय २९ रन बनाउँदा बलिङमा ६ विकेट हात पारेका छन्।

त्यसैगरी, ८ इनिङ्समा १ सय ३२ रन र २ विकेट लिएका इशान पाण्डेले मध्यक्रम थामेका छन् भने आरिफ शेखले ८९ रन र ओपनर तथा विकेटकिपर विनोद भण्डारीले ८८ रन जोडेका छन्।

लिग चरणमा ब्रान्डन म्याकमुलेन र सैफ जैबले योगदान दिएका थिए भने प्लेअफमा भित्रिएका विस्फोटक ओपनर जर्ज मुन्से र अलराउन्डर फाबियन एलेनबाट फाइनलमा ठूलो आशा गरिएको छ।

बलिङतर्फ ९ खेलमा १३ विकेट र ६२ रन जोडेका स्कट कुगेलेइन सुदूरपश्चिमका शीर्ष र समग्र लिगका संयुक्त दोस्रा सर्वाधिक विकेटकर्ता हुन्, जहाँ १७ विकेटसहित चितवनका रिजन ढकाल शीर्ष स्थानमा छन्।

यस्तै, ९ खेलमा १० विकेट लिएका अनिल खरेल र ७ विकेट हात पारेका हेमन्त धामी विपक्षी ब्याटरको रन रोक्ने मुख्य हतियार बनेका छन्।

पिच, रणनीतिक कडी र सम्भावित टोली
सुदूरपश्चिमले लुम्बिनीविरुद्ध पछिल्ला तीनै हार पावरप्लेमै धेरै विकेट गुमाउँदा भोगेको हो। फाइनलमा पनि रुबेन ट्रम्पेलम्यान र किशोर महतोको नयाँ बलविरुद्ध जर्ज मुन्से र विनोद भण्डारी टिक्न सकेनन् भने सुदूरपश्चिम फेरि दबाबमा आउनेछ। उता, डार्सी सर्ट र आसिफ शेखविरुद्ध स्कट कुगेलेइन र हेमन्त धामीको सुरुआती स्पेल निर्णायक हुनेछ।

कीर्तिपुरमा स्पिनरहरू शेर मल्ल, अभिशेष गौतम, अनिल खरेल र रत्नायकेले राम्रो मद्दत पाएका छन्। तर, आज साँझ ५ बजे फ्लडलाइटमा खेलिने भएकाले दोस्रो इनिङ्समा शीतको प्रभाव पर्छ नै, जसका कारण टस जित्ने टोलीले पहिले बलिङ रोज्ने सम्भावना उच्च छ।

दुवै टोली आ-आफ्नो क्वालिफायर जितेको सेटअपमा खासै परिवर्तन नगरी मैदान उत्रने सम्भावना छ। लुम्बिनी लायन्सको सम्भावित प्लेइङ-११ मा डार्सी सर्ट, आसिफ शेख, निरोशन डिक्वेला (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, दिलीप नाथ, अली शेख, रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, किशोर महतो र अभिशेष गौतम रहेका छन्।

त्यस्तै, सुदूरपश्चिम रोयल्सको सम्भावित प्लेइङ-११ मा जर्ज मुन्से, विनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी (कप्तान), थारिन्दु रत्नायके, स्कट कुगेलेइन, फाबियन एलेन, दीपक बोहरा, हेमन्त धामी र अनिल खरेल रहने अनुमान छ।

कागजमा, हालको लय र हेड-टु-हेड तथ्याङ्कमा लुम्बिनी लायन्सको पल्ला केही भारी देखिन्छ। एकपछि अर्को खेलमा फरक-फरक नायक निस्कनु र सुदूरपश्चिमविरुद्ध लगातार तीन जित निकाल्नुले लुम्बिनीको आत्मविश्वास उच्च छ।

तर, क्वालिफायर-२ मा दबाब झेलेर चितवनलाई हराएको सुदूरपश्चिम रोयल्ससँग तीनवटा फाइनल खेलेको अनुभव र जस्तोसुकै सङ्कटबाट खेल फर्काउने क्षमता छ।

यदि सुदूरपश्चिमले पावरप्लेमा लुम्बिनीका पेसरलाई सुरक्षित खेल्दै १४५-१५५ माथिको प्रतिस्पर्धात्मक योगफल खडा गर्न वा लक्ष्य पछ्याउँदा शीर्ष क्रम टिकाउन सक्यो भने तेस्रो प्रयासमा इतिहास रच्न सक्छ; अन्यथा लुम्बिनी लायन्स लगातार दोस्रोपटक एनपीएल च्याम्पियन बन्ने प्रबल सम्भावना छ।

मंसिर ५, २०८३ शनिबार ०७:३९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।