भारत ‘ए’सँग नेपालको लज्जास्पद कीर्तिमान, पाँच ब्याटर शून्यमै आउट हुँदा ३०६ रनले पराजित

भारत ‘ए’सँग नेपालको लज्जास्पद कीर्तिमान, पाँच ब्याटर शून्यमै आउट हुँदा ३०६ रनले पराजित

काठमाडौं : एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले भारत ‘ए’ सँग ३०६ रनको लज्जास्पद हार बेहोरेको छ।

कतारको दोहास्थित वेस्ट एन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा शुक्रबार राति सम्पन्न समूह ‘बी’ को खेलमा ३३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल मात्र ११.३ ओभरमा २६ रनमै अलआउट भएपछि नेपालको लिस्ट ‘ए’ क्रिकेट इतिहासकै सबैभन्दा खराब कीर्तिमान बनेको हो।

नेपाली क्रिकेटको लिस्ट ‘ए’ इतिहासमा २६ रन अहिलेसम्मकै सबैभन्दा कम योगफल र ३०६ रन अहिलेसम्मकै सबैभन्दा फराकिलो हार हो।

पाँच ब्याटर शून्यमा आउट, १ रनमै ४ विकेट पतन
विशाल लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ सुरुआतदेखि नै पूर्ण रूपमा ध्वस्त भयो। इनिङ्सको ०.३ ओभरमा ओपनर अर्जुन कुमाल शून्यमा आउट भएयता नेपालले जम्मा १ रन जोड्दा ४ विकेट गुमाएको थियो।

विकेटकिपर दीपक डुम्रे १ रनमा तथा बसिर अहमद र कुशल भुर्तेल शून्यमा पेभिलियन फर्किए। त्यस्तै, लोकेश बम र कप्तान सन्दीप लामिछानेसमेत शून्यमै आउट भएपछि नेपालका पाँच ब्याटरले खातासमेत खोल्न सकेनन्।

नेपालका लागि पवन सर्राफ (१९ बल) र रशिद खान (१४ बल, १ छक्का) ले बनाएको समान ६-६ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। प्रतिश जीसीले ४ रन (१ चौका), नन्दन यादवले २ र ललित राजवंशीले अविजित २ रन जोड्दा अतिरिक्त ५ रन प्राप्त भएको थियो।

यसै खेलमार्फत नेपालका दीपक डुम्रे, लोकेश बम र रशिद खानले लिस्ट ‘ए’ क्रिकेटमा डेब्यु गरेका थिए। भारत ‘ए’ को घातक बलिङमा प्रिन्स यादवले ५ ओभरमा २ मेडन राख्दै मात्र ६ रन खर्चेर ५ विकेट लिए। त्यस्तै, हर्षित राणाले ६ ओभरमा १६ रन दिएर ४ विकेट तथा शाहबाज अहमदले ०.३ ओभरमा १ विकेट हात पारे।

कुमार र तिलकको शतक, सन्दीप र ललितको ३-३ विकेट
त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालविरुद्ध भारत ‘ए’ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३२ रनको विशाल योगफल तयार पारेको थियो।

सुरुआती १०.३ ओभरमा ४२ रन बनाउँदा ३ विकेट गुमाइसकेको भारत ‘ए’ लाई विकेटकिपर कुमार कुशाग्र र कप्तान तिलक वर्माले उकासेका थिए। दुवैले चौथो विकेटका लागि २०६ रनको सानदार साझेदारी गरे।

कुमार कुशाग्रले १०२ बलमा १० चौका र ५ छक्कासहित ११७ रन बनाए भने कप्तान तिलक वर्माले ११३ बलमा ६ चौका र ४ छक्काको मद्दतमा १०७ रन जोडे।

अन्त्यतिर सूर्यांश शेडगेले १४ बलमा १ चौका र ४ छक्कासहित अविजित ३६ रनको आक्रामक इनिङ्स खेले भने वैभव सूर्यवंशीले २६ रन बनाए।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान १०-१० ओभर बलिङ गर्दै ६१–६१ रन खर्चेर ३-३ विकेट लिए।

यस्तै, नन्दन यादवले ९ ओभरमा ४९ रन खर्चेर २ विकेट तथा पवन सर्राफले ८ ओभरमा ४१ रन खर्चेर १ विकेट हात पारे। कुशल भुर्तेल, प्रतिश जिसी र रशिद खान भने विकेटविहीन रहे।

मंसिर ४, २०८३ शुक्रबार २२:११:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।