दशौं राष्ट्रिय खेलकुदको खेल तालिका सार्वजनिक : सात जिल्लामा ३२ खेल

दशौं राष्ट्रिय खेलकुदको खेल तालिका सार्वजनिक : सात जिल्लामा ३२ खेल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा उद्घाटन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।

राखेपले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताका ३२ खेल कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई गरी सात जिल्लामा सञ्चालन हुनेछन्। प्रतियोगिताका ३२ मध्ये २३ खेल सुर्खेतमै केन्द्रित गरिएको छ। 

सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई-स्पोर्टस् र सेपाकताक्रो गरी २३ खेल सञ्चालन हुनेछन्। यी खेल वीरेन्द्रनगरस्थित मुख्य रङ्गशाला, कभर्डहल, सेनाको खेल मैदान, काँक्रेविहार र छिन्चुलगायत स्थानमा आयोजना गरिनेछ।

त्यस्तै, बाँकेको नेपालगन्जमा पौडी र सुटिङ, बर्दियामा टेनिस र खो-खो, सल्यानको श्रीनगर कभर्डहलमा कुस्ती र जुडो, दैलेखको नारायण कभर्डहलमा आईटीएफ तेक्वान्दो, कालिकोट कभर्डहलमा बुद्धिचाल तथा पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछन्।

राखेपले प्राविधिक कारणले आवश्यक परे खेलस्थल परिवर्तन हुन सक्ने जनाएको छ। आगामी मङ्सिर १६ गते उद्घाटन हुने प्रतियोगिताको समापन भने मङ्सिर २७ गते हुनेछ। तर, उद्घाटन हुनुअघि नै मङ्सिर ८ गतेदेखि भलिबल, फुटबल, क्रिकेट, हक्की, सुटिङ, पौडी र टेनिसलगायत १० खेलका प्रतिस्पर्धा सुरु हुनेछन्।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। कुल ३८४ इभेन्ट्समा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई पनि पहिलो पटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।

मंसिर ४, २०८३ शुक्रबार २२:०१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।