एनपीएल फाइनलअघि त्रिवि मैदान : बाहिर फ्यानको आक्रोश, भित्र क्याप्टेनलाई झुक्याएर ‘प्रेसमिट’!

एनपीएल फाइनलअघि त्रिवि मैदान : बाहिर फ्यानको आक्रोश, भित्र क्याप्टेनलाई झुक्याएर ‘प्रेसमिट’!

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलअघिको पूर्वसन्ध्यामा शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान बाहिर र भित्र दुवैतर्फ अनौठो दृश्य देखियो।

मैदानको गेटबाहिर टिकट नपाएका समर्थकहरू क्यान र ई-सेवाविरुद्ध नाराबाजी गर्दै आक्रोश पोखिरहँदा मैदानभित्र फाइनलिस्ट टोलीका दुवै कप्तानलाई ‘फोटोसुट’को बहानामा ल्याएर पूर्वजानकारीबिनै पत्रकार सम्मेलनमा राखियो।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार अपराह्न ४:३० बजे ‘फाइनलिस्ट क्याप्टेन्स मिट’का लागि पत्रकारलाई बोलाएको थियो। पत्रकारहरू ४ बजेपछि नै मैदानमा जम्मा भइसकेका थिए।

तर, ५:३० बज्दासम्म पनि दुवै टोलीका कप्तान आइपुगेनन्। पछि मात्र लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी कीर्तिपुरकै बाघभैरव मन्दिरमा फोटोसुटका लागि गएको जानकारी आयो।

करिब पौने ६ बजेतिर दुवै कप्तानसँगै सुदूरपश्चिमका इशान पाण्डे, लुम्बिनीका शेर मल्ल र क्यानका फोटोग्राफर साजन लामिछाने मैदानमा आइपुगे।

पत्रकार सम्मेलन सुरु हुनुअघि टेबलमा बसिसकेपछि अनौपचारिक संवादमै लुम्बिनीका कप्तान रोहितले अचम्म मान्दै ‘प्रेस मिट भन्ने त थाहै थिएन त!’ भन्दै प्रतिक्रिया दिए। सुदूरपश्चिमका कप्तान दीपेन्द्रले थपे- ‘हामीलाई त यहाँ साजन (क्यानका फोटोग्राफर साजन लामिछाने)ले फोटोसुट छ भन्दै ल्याको हो त!’

त्यसलगत्तै अनौपचारिक अलमलबीच औपचारिक ‘क्याप्टेन्स मिट’ सुरू गरियो।

गेटबाहिर समर्थकको नाराबाजी
कप्तानहरू भित्र पत्रकार सम्मेलनमा बसिरहँदा त्रिवि क्रिकेट मैदानको गेटबाहिर भने टिकट नपाएका क्रिकेट समर्थकहरूको प्रदर्शन चलिरहेको थियो।

अपराह्न ४ बजे उकेराकर्मी मैदानको गेटमा पुग्दा समर्थकहरूले क्यान र टिकट साझेदार ई-सेवामाथि तीव्र आक्रोश पोखिरहेका थिए। दिउँसो १ बजे टिकट खुल्नेबित्तिकै काट्न खोज्दासमेत नपाएको भन्दै उनीहरूले कालोबजारी र चलखेलको आरोप लगाए।

एनपीएलको टिकट नपाएृपछि ई-सेवा र क्यानविरुद्ध प्रदर्शन गर्दै क्रिकेट समर्थक।

यस विषयमा पत्रकार सम्मेलनमा जवाफ दिँदै क्यानका केन्द्रीय सदस्य एवं टुर्नामेन्ट डाइरेक्टर धीरेन्द्र साउँदले टिकट बिक्रीमा कुनै अनियमितता नभएको जिकिर गरे।

ई-सेवाबाट दिउँसो १ बजे टिकट खुल्नेबित्तिकै पहिलो मिनेटमै २ लाखदेखि ४ लाख समर्थक एकैसाथ टिकट काट्न जाँदा ट्राफिक जाम भएको र क्षमताभन्दा अत्यधिक मागका कारण तुरुन्तै ‘सोल्डआउट’ भएको उनको दाबी थियो।

करिब ८ हजारदेखि १० हजार दर्शक क्षमता रहेको मैदानमा प्रत्येक दिन ६ हजारभन्दा बढी टिकट बिक्री गरिँदै आएको साउँदले जानकारी दिए। तर, फाइनल खेलमा सबै टिमका मालिक, प्रायोजक र सरोकारवालाहरू उपस्थित हुने भएकाले अन्य दिनको तुलनामा पास अलि बढी वितरण गर्नुपरेको उनको तर्क थियो।

उनले फाइनलपछि आतिशबाजीको कार्यक्रम रहने, सुरक्षा निकायले बिहीबारदेखि नै निरीक्षण र डेमो गरिसकेको तथा प्रमुख अतिथिको टुङ्गो लाग्न बाँकी रहेको बताए।

दुई कप्तानको बीचमा एनपीएलका टुर्नामेन्ट डाइरेक्टर धीरेन्द्र साउँद।

‘मलाई बोल्न मन पर्दैन, ब्याट र बलबाटै बुझ्नू’
पत्रकार सम्मेलनमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले तीन दिनको विश्राममध्ये सुरुआती दुई दिन आराम र शुक्रबार राम्रो अभ्यास सेसन गरेर फाइनलका लागि उत्साहित रहेको बताए।

लगातार तीन खेलमा सुदूरपश्चिमलाई हराएको विषयमा सोधिएको प्रश्नमा उनले त्यसअघिका दुई खेल सुदूरपश्चिमले जितेको स्मरण गराउँदै भोलिको खेलमा पुरानो नतिजाले अर्थ नराख्ने स्पष्ट पारे। लगातार दोस्रो उपाधि जितेर इतिहास रच्न मैदानमै उत्कृष्ट क्रिकेट खेल्नुपर्ने उनको भनाइ थियो।

उता, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘हाम्रो तयारी त दुई-तीनटा गेमबाट हेरिसक्नुभयो’ भन्दै टोलीमा कुनै चोटपटकको समस्या नरहेको र सबै खेलाडी फिट रहेको जानकारी दिए।

लुम्बिनीको बलिङ आक्रमण बलियो रहेको स्वीकार्दै उनले त्यसको सामना गर्ने योजना टिम मिटिङमा बनिसकेको तर ‘त्यो कुरा धेरै नखोलौँ’ भन्दै हाँसोमा टारे।

‘फोटोसुट’ झुक्याएर पुगेका दुई फाइनलिस्ट टिमका कप्तान पत्रकार सम्मेलनपछि।

प्रतियोगिताको बीचैमा विदेशी खेलाडी आउने-जाने क्रमले टिमको सन्तुलनमा केही असर पर्ने र त्यही कारण ब्याटिङ क्रम तलमाथि गर्नुपरेको उल्लेख गर्दै उनले फाइनलमा उत्कृष्ट संयोजन देखिने दाबी गरे।

यसअघि विराटनगर किङ्सविरुद्धको खेलको विवादबारे क्यान वा टिमबाट आधिकारिक धारणा नआएको र पोस्ट-म्याच पत्रकार सम्मेलनमा प्रमुख खेलाडी अनुपस्थित भएको विषयमा प्रश्न उठ्दा दीपेन्द्रले ‘त्यो कुरा पास्ट भइसक्यो, सोचेर फाइदा छैन, अगाडि बढौँ’ भन्ने जवाफ दिए।

लगत्तै ‘तपाईंलाई प्रेससँग समस्या हो?’ भनी सोध्दा उनले सिधै ‘मलाई चाहिँ बोल्न खासै मन पर्दैन, त्यही भएर हो समस्या’ भने। ‘त्यसो भए हामीले ब्याट र बलबाट मात्रै तपाईंको भाषा बुझ्नुपर्यो?’ भन्ने प्रतिप्रश्नमा उनले ‘हजुर’ भनी उत्तर दिए।

मंसिर ४, २०८३ शुक्रबार २०:५३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।