एनपिएल फाइनलको टिकट बिक्रीमा प्रश्न उठेपछि क्यानले दियो स्पष्टीकरण

एनपिएल फाइनलको टिकट बिक्रीमा प्रश्न उठेपछि क्यानले दियो स्पष्टीकरण

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार हुने फाइनल खेलको टिकट बिक्रीको पारदर्शितामाथि प्रश्न उठिरहेको बेलामा नेपाल क्रिकेट संघ (क्यान) ले करिब २ लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोज्दा केही मिनेटमै सकिएको स्पष्टीकरण दिएको छ। 

टिकट बिक्रीको साझेदार 'इसेवा'ले शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुला गर्ने समय तोकेको थियो। तर, निर्धारित समयभन्दा तीन मिनेट अगावै अर्थात् दिउँसो १२:५७ बजे नै इसेवाको एपमा 'सबै टिकट बिक्री भइसकेको' सन्देश देखिएको स्क्रिनसट उकेराले प्राप्त गरेको छ।

तोकिएको समय अगावै सबै टिकट बिक्री भएको सूचनापछि टिकट वितरणको पारदर्शितामाथि गम्भीर प्रश्न उठिरहेको छ। तोकिएको समयमा प्रयास गर्दासमेत टिकट नपाएको भन्दै अधिकांश क्रिकेटप्रेमीले स्क्रिनसटसहित सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्।

तर, क्यानका सचिव पारस खड्काले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा टिकट बिक्री खुला गरिएकै समयमा करिब २ लाख प्रयोगकर्ताबाट एकैसाथ अनुरोध आएको उल्लेख छ। क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सम्पूर्ण टिकट 'सोल्डआउट' भएको उनको भनाइ छ।

टिकट नपाउँदा पर्न गएको असुविधाप्रति क्षमा माग्दै उनले टिकट लिन नसकेका क्रिकेटप्रेमीलाई अनलाइन एवं आधिकारिक प्लेटफर्महरूमार्फत खेल हेर्न आग्रह गरे। यद्यपि निर्धारित समय अगावै टिकट बिक्री सकिएको देखाएको विषय र कालोबजारीबारे उठिरहेको आरोपबारे क्यानको विज्ञप्तिमा प्रत्यक्ष जवाफ छैन। 

एनपिएलको तेस्रो संस्करणको सुरुवातदेखि नै टिकट बिक्रीको पारदर्शितामाथि निरन्तर प्रश्न उठ्दै आएको छ भने महत्त्वपूर्ण खेलका टिकट कालोबजारी भएको आरोपसमेत लाग्ने गरेको छ। शुक्रबार सर्वसाधारणले निर्धारित समयमा टिकट काट्न नपाएको गुनासो गरिरहँदा सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले आफूसँग फाइनलको टिकट रहेको भन्दै प्रतिटिकट १० हजार रुपैयाँसम्म मूल्य तोकेर बिक्रीका लागि राखेको पनि देखिन्छ। 

फाइनल खेलका लागि आयोजकले साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट मूल्य तोकेको थियो। तर, फाइनल खेलका लागि सर्वसाधारणतर्फ कति सङ्ख्यामा टिकट छुट्टाइएको थियो भन्ने विवरण आयोजक एनपिएल गभर्निङ काउन्सिल र इसेवा दुवै पक्षले खुलाएका छैनन्।

मंसिर ४, २०८३ शुक्रबार १७:३३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।