एनपिएल फाइनलको टिकट निर्धारित समयभन्दा अगाडि नै सोल्ड आउट, कालोबजारीको शंका

एनपिएल फाइनलको टिकट निर्धारित समयभन्दा अगाडि नै सोल्ड आउट, कालोबजारीको शंका

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्रारम्भदेखि नै टिकट विक्रीको पारदर्शितामाथि निरन्तर प्रश्न उठ्दै आएको थियो। दर्शकहरूको बढी चासो रहेको महत्वपूर्ण खेलको टिकट कालोबजारी भएको गम्भीर आरोप समेत लाग्यो। फाइनलको टिकट विक्री खुला हुने समय अगाडि नै सबै टिकट विक्री भएको सूचनापछि क्रिकेटप्रेमीहरुले पारदर्शिताबारे गम्भीर प्रश्न उठाएका छन्।

अहिले सामाजिक सञ्जाल यही विषयले तातेको छ। शनिवार हुने फाइनल खेलका लागि एनपिएलको टिकट विक्रीको अधिकार पाएको इसेवाले दिउस एक बजे टिकट विक्री खुला गर्ने तोकेको थियो। तर टिकट सर्वसाधारणका लागि खुला हुनु अगाडि नै इसेवाको एपमा सबै टिकट विक्री भएको सन्देश आयो।

उकेराले प्राप्त गरेको स्क्रिनसटमा शुक्रवार दिउस १२: ५७ अर्थात् टिकट विक्री खुला हुनु तीन मिनेट अगाडि नै एनपिएल फाइनलको सबै विक्री विक्री भएको देखिएको थियो। त्यसपछि फाइनलको खेलको टिकट कालोबजारीबाट बिक्री भएको भन्दै सामाजिक सञ्जालमा टिकट विक्रीको पारदर्शिताबारे गम्भीर प्रश्नहरू उठाइएका छन्।

सञ्जालमा केही प्रयोगकर्ताहरूले आफूसँग फाइनलको टिकट रहेको र मूल्य १० हजार रहेको भन्दै सामाजिक सञ्जालमा राखेका छन्। केहीले आफूले टिकट पाएको दाबी गरेका छन्। अधिकांशले भने तोकिएको समयमा प्रयास गर्दा पनि पहिल्यै सबै बिक्री भएको सन्देश आएको भन्दै स्क्रिनसट नै सार्वजनिक गरेका छन्।

फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ २ हजार टिकट मूल्य तोकिएको थियो। तर फाइनलका लागि कति सङ्ख्यामा टिकट सर्वसाधारणका लागि राखिएको हो त्यो आयोजक एनपिएल गभर्निङ काउन्सिल र इसेवा दुवै पक्षले खुलाएका छैनन्।

मंसिर ४, २०८३ शुक्रबार १६:०२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।