घोप्टेभीरमा खस्ने सुक्खा पहिरो नियन्त्रण गर्न नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

घोप्टेभीरमा खस्ने सुक्खा पहिरो नियन्त्रण गर्न नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
फाइल तस्बिर

चितवन : पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ। पहिरोका कारण मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर पहिरो हटाउने निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा यही मङ्सिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म (पाँच घण्टा) सडक आवागमन बन्द गरिने जनाइएको छ।

सडक बन्द गरी जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने काम गर्नका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उक्त समयमा सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहने छन्। 

घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले सडकमा थप जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पहिरो व्यवस्थापनको काम अघि बढाउन सडक बन्द गरिएको हो। सडक बन्द हुने समयमा वैकल्पिक यात्रा व्यवस्थापन गर्न तथा अनावश्यक दुःखबाट बच्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

समस्या परे समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सडकखण्डका सूचना अधिकारीसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ। 

साथै नारायणगढ तर्फबाट जाने गाडीलाई जुगेडी र आँपटारीमा, पोखरा तर्फबाट आएका गाडीलाई आँबुखैरेहनी र काठमाडौं तर्फबाट आएका गाडीलाई रमाइलो डाँडामा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

मंसिर ४, २०८३ शुक्रबार २०:०८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।