सर्लाहीमा अपहरणमा परेका व्यक्तिको सकुशल उद्धार, चार जना पक्राउ; गलत सूचना दिने व्यक्ति पनि नियन्त्रणमा

सर्लाहीमा अपहरणमा परेका व्यक्तिको सकुशल उद्धार, चार जना पक्राउ; गलत सूचना दिने व्यक्ति पनि नियन्त्रणमा

काठमाडौं : वैदेशिक रोजगारीसम्बन्धी विवादमा अपहरण गरेर बन्धक बनाइएका सर्लाहीको गोडैता नगरपालिका-९ का सुनिलकुमार रायको प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् भने घटनाबारे गलत सूचना दिएर अतिरञ्जित गरेको आरोपमा थप दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार कात्तिक २७ गते राति करिब १० बजेतिर कौडेना गाउँपालिका-२ फुलपरासीबाट रायको अपहरण भएको थियो। 

बरहथवा नगरपालिका-५ का सन्तोष कुमार महतोसहित दुई वटा मोटरसाइकलमा आएका चार/पाँच जनाको समूहले कुटपिट गर्दै रायलाई पिकअप गाडीमा हालेर बरहथवातर्फ लगेको जानकारी उनका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवालाई गराएका थिए।

भोलिपल्ट कात्तिक २८ गते बिहान बरहथवा-५ स्थित महतोको घरमा बन्धक बनाइएको अवस्थामा रायलाई फेला पारेको प्रहरीले उनको उद्धार गरेको थियो।

उद्धार गरिएको स्थानबाट महतोलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीले बरहथवा-७ दूध डेरी चोकबाट घटनामा संलग्न अन्यलाई आरोपीलाई पक्राउ गरेको थियो। अपहरण तथा शरीर बन्धक कसुरमा पक्राउ परेका बरहथवा-५ का विश्वेश्वर महतो, प्रमोद कुमार महतो, अमित कुमार महतो र सन्तोष कुमार महतोविरुद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको गौतमले बताए।

प्रारम्भिक अनुसन्धानबाट पीडित र आरोपितहरूबीच वैदेशिक रोजगारसम्बन्धी विवाद रहेको र सोही विषयको रकम जबरजस्ती असुलउपर गर्न अपहरण गरिएको खुलेको प्रहरीले जनाएको छ। त्यस्तै अपहरणकारीहरूले फिरौती मागेको र फिरौती रकम तिर्न जाँदा तीन लाख रुपैयाँ तथा गरगहनासमेत लुटेको भनेर गलत सूचना दिएर घटनाको अतिरञ्जन गरेको आरोपमा बरहथवा-१२ का राम नारायण यादव र निलव देवीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर ३, २०८३ बिहीबार २१:४६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।