आज हरिबोधिनी एकादशी, देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौं : कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँ उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लाम लागेको छ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ। सोही अवसरमा भगवान् विष्णुको पूजाआजा तथा आराधना गर्न बिहानैदेखि मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको हो।
उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायणलाई ‘चार नारायण’ का रूपमा चिनिन्छ। आज एकैदिन यी चारवटै नारायणको दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेकाले टाढा-टाढाबाट समेत सवारीसाधन रिजर्भ गरेर भक्तजन आउने गरेका छन्।
चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ। बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिवको मूर्ति एउटै ठूलो ढुङ्गामा स्थापना गरिएको छ।
मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिए। भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति १:३० बजेदेखि दर्शनार्थीका लागि मन्दिरको ढोका खुला गरेको थियो।
बूढानीलकण्ठ नारायणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। बिहान ६ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजाआजा एवं दर्शन गरिसकेको महन्त स्वामीले बताए।
१:३० बजेदेखि ८:१५ बजेसम्म विशेष पूजाका लागि दर्शनार्थीलाई मन्दिर प्रवेशमा रोक लगाइने कार्यक्रम रहेको मठले जनाएको छ।
बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात् मङ्सिर ८ गतेसम्म विशेष मेला लाग्छ। यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ, जसको दर्शन तथा अवलोकन गर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ।
मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा श्रीमद्भागवत कथा वाचन गराउँदै आएको छ। सोहीअनुसार मङ्सिर २ गतेदेखि सुरु भएको महायज्ञ तथा धार्मिक महोत्सव मङ्सिर ८ गतेसम्म सञ्चालन गरिनेछ।
यसैगरी, नारायणहिटी दरबार क्षेत्रस्थित चतुर्व्यूह नारायण, हाँडीगाउँ, हनुमानढोका दरबार क्षेत्र, पशुपति क्षेत्र र गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित नारायण मन्दिरलगायत काठमाडौं उपत्यका र उपत्यकाबाहिरका नारायण मन्दिरहरूमा पनि पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको बाक्लो उपस्थिति रहेको छ।
मंसिर ४, २०८३ शुक्रबार ०७:३२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।