बहुमत जुट्ने अवस्था नदेखेपछि मधेसका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

बहुमत जुट्ने अवस्था नदेखेपछि मधेसका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि शनिबार पदबाट राजीनामा दिएका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत पाउने अवस्था कमजोर बनेको थियो।

यादवले अङ्कगणितीय हिसाबले पदमा रहनुभन्दा जनताको सेवा र विश्वासलाई प्राथमिकता दिँदै राजीनामा दिएको बताए। नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। 

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए। मुख्यमन्त्री यादवको राजीनामापछि मधेश प्रदेशमा अब कुन दलको नेतृत्वमा सरकार गठन हुने भन्ने टुङ्गो लागेको छैन।

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका २२, एमाले का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक सदस्य छन्।

कात्तिक २८, २०८३ शनिबार १४:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।