पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी, भारतले समर्थन गरेको आरोप

पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी, भारतले समर्थन गरेको आरोप

एजेन्सी : अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले गरेको कारबाहीमा २२ जना आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ।

गुप्तचर सूचनाका आधारमा खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा गरिएको छापामा उनीहरू मारिएको सेनाले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको हो।

सेनाका अनुसार दक्षिण वजीरिस्तान, बन्नु र ट्याङ्क जिल्लामा पछिल्लो ४८ घण्टामा कारबाही गरिएको थियो। मारिएका आतङ्ककारीलाई भारतको समर्थन रहेको आरोपसमेत सेनाले लगाएको छ। यसबारे भारतले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

पाकिस्तानले यसअघि पनि अफगानिस्तान र भारतले पाकिस्तानी तालिबान तथा अन्य आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ। दुवै देशले भने ती आरोप अस्वीकार गर्दै आएका छन्।

पाकिस्तानी सेनाले गत साता उत्तरपश्चिमी क्षेत्र र दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका विभिन्न लुकेका स्थानमा गरेको कारबाहीमा ७४ जना आतङ्ककारी मारिएको जनाएको थियो। सेनाले बाँकी रहेका आतङ्ककारीको खोजी जारी रहेको र विदेशी समर्थनमा भइरहेको भनिएको आतङ्कवादी गतिविधिविरुद्ध कारबाही निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै भारत समर्थित भनिएका आतङ्ककारीलाई मारिएको भन्दै सुरक्षा बलको प्रशंसा गरेका छन्। उनीहरूले आतङ्कवादविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आतङ्ककारी र तिनका समर्थकलाई पाकिस्तानमा अशान्ति फैलाउन नदिने बताएका छन्।

आतङ्कवादविरुद्ध लडिरहेका सुरक्षा फौजको साथमा सिङ्गो राष्ट्र रहेको उनीहरूको भनाइ छ।

पाकिस्तानमा पछिल्ला वर्षहरूमा प्रहरी तथा सुरक्षा बललाई लक्षित गरी हुने आतङ्कवादी आक्रमण बढेका छन्। अधिकारीहरूले अधिकांश घटनामा तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) र त्यससँग आबद्ध अन्य आतङ्कवादी समूहको संलग्नता रहेको आरोप लगाउँदै आएका छन्।

पाकिस्तानी तालिबान अफगानिस्तानको तालिबानभन्दा अलग सङ्गठन भए पनि सन् २०२१ मा काबुलमा सत्ता कब्जा गरेको तालिबानसँग सम्बन्धित छ। टिटिपीका धेरै नेता तथा लडाकू अफगानिस्तानको सीमापार क्षेत्रमा रहेका सुरक्षित आश्रयस्थलबाट गतिविधि सञ्चालन गरिरहेको विश्वास गरिन्छ। यसै कारण इस्लामाबाद र काबुलबीचको सम्बन्ध तनावपूर्ण बन्दै आएको छ।

मंसिर ३, २०८३ बिहीबार १६:१५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।