एपेक सम्मेलनमा ट्रम्प, पुटिन र सी चिनफिङबीच त्रिपक्षीय वार्ता हुँदै; व्यापार, आणविक निशस्त्रीकरण र युद्ध अन्त्यबारे छलफल हुने
एजेन्सी : चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ऐतिहासिक त्रिपक्षीय बैठक हुँदैछ।
सम्मेलनका क्रममा विश्वका तीन शक्तिशाली राष्ट्रका प्रमुखहरू एकै ठाउँमा उभिएर विश्व शान्ति र रणनीतिक स्थिरताबारे गहन छलफल गर्न लागेका हुन्।
त्रिपक्षीय शिखर वार्ताअघि राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ। चिनियाँ राष्ट्रपति सीसँगको भेटमा ट्रम्पले अमेरिका र चीनले व्यापार, प्रविधि र विश्व शान्तिमा नेतृत्वदायी भूमिका खेलिरहेको बताउँदै सीसँगको व्यक्तिगत सम्बन्ध निकै सुमधुर रहेको प्रतिक्रिया दिएका छन्। चिनियाँ राष्ट्रपति सीले पनि अमेरिका-चीन सम्बन्ध स्थिर र सुधारोन्मुख रहेको बताउँदै ट्रम्पसँग मिलेर काम गर्न आफू दृढ रहेको उल्लेख गरेका छन्। बुधबार सेन्जेन आइपुगेका ट्रम्पलाई राष्ट्रपति सीले कूटनीतिक प्रोटोकल तोड्दै विमानस्थलमै पुगेर रातो कार्पेट स्वागत गरेका थिए।
यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेट गरेका थिए। पुटिनसँगको भेटबाट सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्दै ट्रम्पले भविष्यमा थप बैठकहरू हुन सक्ने बताएका थिए।
त्यस्तै, त्यस्तै, सेन्जेनमै भएको सी र पुटिनबीचको द्विपक्षीय भेटमा दुवै नेताले चीन–रुस सम्बन्ध सुदृढीकरण र बहुध्रुवीय विश्व व्यवस्थालाई अघि बढाउने प्रतिबद्धता दोहोर्याएका छन्। सीले दुई देशबीचको सम्बन्धलाई प्रतिकूल परिस्थितिमा पनि पहाडझैँ अडिग रहेको बताएका थिए भने पुटिनले चुनौतीपूर्ण अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद आपसी राजनीतिक सहकार्य रचनात्मक रहेको उल्लेख गरे।
युद्ध अन्त्य र परमाणु निशस्त्रीकरणबारे छलफल हुने
त्रिपक्षीय बैठक करिब एक घण्टाभन्दा कम समयको हुने क्रेमलिनले जनाएको छ। बैठकमा मुख्यगरी रुस-युक्रेन युद्ध र अमेरिका-इरान द्वन्द्व अन्त्य गर्ने विषयमा केन्द्रित रहेर छलफल हुनेछ। ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र चीन दुवै इच्छुक रहेको बताएका छन्, यद्यपि युक्रेनको संलग्नताबिना पुटिनसँग कुनै सम्झौता नगर्ने उनले स्पष्ट पारेका छन्।
यसका साथै बैठकमा परमाणु हतियारको भण्डार घटाउने (निशस्त्रीकरण), कृत्रिम बौद्धिकता (एआई), दुर्लभ खनिज (रेयर अर्थ) को आपूर्ति, भन्सार शुल्क (ट्यारिफ) तथा फेन्टानिल संकट नियन्त्रण जस्ता महत्त्वपूर्ण विषयमा पनि छलफल हुने कार्यसूची छ। इरानलाई परमाणु हतियार बनाउन नदिने र होर्मुज स्ट्रेटबाट ऊर्जा आपूर्ति सुचारु राख्ने विषयमा अमेरिका र चीनबीच समान धारणा देखिएको छ।
प्रस्तावित त्रिपक्षीय छलफल अमेरिका र रुसबीचको नयाँ स्टार्ट आणविक हतियार नियन्त्रण सन्धि समाप्त भएपछि अन्तर्राष्ट्रिय हतियार नियन्त्रणको विषयले पुनः महत्त्व पाएका बेला हुन लागेको हो। अमेरिकाले चीनलाई पनि व्यापक आणविक हतियार कटौतीसम्बन्धी वार्तामा सहभागी गराउन खोजिरहेको छ। तर चीनले अमेरिका र रुससँग तुलनात्मक रूपमा निकै ठूलो आणविक हतियार भण्डार रहेको भन्दै प्रत्यक्ष वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ।
मंसिर ३, २०८३ बिहीबार १३:४८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।