रुसको साइबेरियामा सैन्य विमान दुर्घटना, सवार सबै १९ जनाको मृत्यु

रुसको साइबेरियामा सैन्य विमान दुर्घटना, सवार सबै १९ जनाको मृत्यु

एजेन्सी : रुसको साइबेरिया क्षेत्रमा एक सैन्य कार्गो विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चारमाध्यमले यस घटनाको पुष्टि गरेको हो।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार 'एएन–१२' विमान केमेरोभो क्षेत्रको एक मानव बस्ती नभएको स्थानमा नियमित उडानका क्रममा दुर्घटनामा परेको हो। मन्त्रालयले प्रारम्भिक अनुसन्धानका क्रममा प्राविधिक खराबीका कारण दुर्घटना भएको हुन सक्ने आशङ्का गरेको छ। घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।

स्थानीय गभर्नर इल्या सेरेड्युकका अनुसार यागुनोभो गाउँ नजिकै भएको दुर्घटनापछि आपतकालीन उद्धार टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो र प्रहरीले उक्त क्षेत्रलाई सिल गरेको छ।

दुर्घटनास्थलको निरीक्षण गरेका गभर्नर सेरेड्युकले हेलिकप्टर र स्वास्थ्य उपचारका आवश्यक सुविधालाई तयारी अवस्थामा राखिएको बताएका छन्। उनले अहिलेको मुख्य प्राथमिकता अनुसन्धानकर्ताहरूलाई काम गर्न सहयोग गर्नु रहेको पनि उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा अग्निनियन्त्रकहरूले विमानको भग्नावशेषमा खोजी गरिरहेको र नजिकै एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएको देखिन्छ। यद्यपि, दुर्घटनास्थल टाढा भएकाले विमान खसेको दृश्य स्पष्ट देखिएको छैन।

सामाजिक सञ्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा आकाशबाट एउटा चम्किलो वस्तु तल खस्दै गरेको र लगत्तै ठूलो विस्फोट भई आकाश उज्यालो भएको देखिन्छ। बीबीसी र समाचार संस्था रोयटर्सले उक्त फुटेजको समय र मिति प्रमाणित गरेका छन् भने रोयटर्सले स्याटेलाइट तस्बिरहरूसँग दृश्यको भूबनोट मिलाएर स्थानसमेत पुष्टि गरेको छ।

दुर्घटनाग्रस्त विमानमा कुनै सामग्री (कार्गो) थियो वा थिएन भन्नेबारे तत्काल खुल्न सकेको छैन। एएन–१२ विमानहरू रुसी सेनाले हतियार तथा सैनिक ओसारपसार गर्न र खोज तथा उद्धार कार्यका लागि व्यापक रूपमा प्रयोग गर्ने गर्दछ।

मंसिर २, २०८३ बुधबार १०:१७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।