टाउकोमा बलले लागेर अर्जेन्टिनी फुटबलरको मृत्यु
एजेन्सी : अर्जेन्टिनाका युवा फुटबलर एबेल नूनेजको खेलका क्रममा टाउकोमा चोट लागेर मृत्यु भएको छ।
एफसी एजेइजाको युवा टोलीबाट खेल्ने नूनेजको मृत्यु भएको उनका क्लबले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।
खेल समाचार वेबसाइट टीवाईसी स्पोर्ट्सका अनुसार गत नोभेम्बर १२ मा डेपोर्टिवो मुन्यिजविरुद्धको खेलका क्रममा नूनेजको टाउकोमा बलले लागेको थियो।
अर्जेन्टिना फुटबल संघको ‘जुवेनिलेस सी’ प्रतियोगिताअन्तर्गत उक्त खेल क्लब एटलेटिको ला सोनियाको मैदानमा भइरहेको थियो।
आइतबार, नोभेम्बर १५ मा उनको निधन भएको पुष्टि गरिएको हो। घटनापछि सो खेलका साथै त्यसपछि हुने भनिएको युवा टोलीहरूको अर्को खेलसमेत रोकिएको थियो।
एफसी एजेइजाले आफ्नो विज्ञप्तिमा यो घटना क्लबका लागि अत्यन्तै दु:खद खबर भएको उल्लेख गर्दै नूनेजको परिवार, साथीभाइ तथा सहकर्मी खेलाडीहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
मंसिर २, २०८३ बुधबार १२:१३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।