त्रिभुवन विमानस्थलबाट डेढ किलोभन्दा बढी सुनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले डेढ किलोभन्दा बढी सुनसहित एक चिनीयाँ नागरिकलाई पक्राउ गरेको छ।
नेपाल वायुसेवा निगमको उडानमार्फत हङकङबाट काठमाडौं आएका ५८ वर्षीय चिनियाँ नागरिक जिनहाउ वाङलाई प्रहरीले पक्राउ गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सह–प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेद्वारा जारी विज्ञप्ति अनुसार आज बिहान करिब ०१:२५ बजेको समयमा उनी पक्राउ परेका हुन्। हङकङबाट उडान नम्बर आरए ४१० एफमार्फत काठमाडौं आएका चीनका वाङ भन्सार एरिया पार गरी बाहिर निस्किने क्रममा शङ्कास्पद रूपमा फेला परेका थिए।
प्रहरीका अनुसार जाँच गर्ने क्रममा निजले आफ्नो मलद्वारभित्र प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याएको सुनजस्तो देखिने पहेलो गोलाकार अर्धठोस पदार्थका ४ वटा प्लाष्टिकको क्यापसहित जम्मा १ के.जी. ८०३.७७ ग्राम फेला परेको हो। भन्सार एरिया पार गरी बाहिर निस्किने क्रममा उक्त पदार्थ बरामद गरी निजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चिनियाँ नागरिक वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुन बमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ।
मंसिर २, २०८३ बुधबार १३:३०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।