१ सय ३० रन बनेको भए खेल अर्कै हुन्थ्यो : जगत टमाटा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमाटाले ब्याटिङ असफलतालाई नै हारको मुख्य कारण बताएका छन्।
मङ्गलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलपछि आयोजित पत्रकार सम्मेलनमा टमाटाले टस महत्त्वपूर्ण भए पनि आफ्ना ब्याटरहरू चल्न नसक्दा र पावरप्लेमै शीर्ष क्रम ध्वस्त हुँदा खेल गुमाउनुपरेको स्वीकार गरे।
‘आज टस पनि निकै महत्त्वपूर्ण थियो, तर विशेषगरी हाम्रा ब्याटरहरू नचल्नु नै हारको मुख्य कारण हो,’ टमाटाले भने, ‘यदि बोर्डमा कम्तीमा १३० रन जोड्न सकेको भए खेलको परिस्थिति नै अर्कै हुन्थ्यो।’ उनले लुम्बिनीले योजनाबद्ध रूपमा पावरप्लेमा आक्रमण गरेको र आफूहरूले त्यहीँ खेल गुमाएको बताए।
कठिन परिस्थितिमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले गरेको साझेदारीको भने उनले प्रशंसा गरे। सोमबार मात्र नेपाल आइपुगेका जर्ज मुन्सी आजको खेलमा नचले पनि आगामी खेलमा उनले लय समात्ने विश्वास टमाटाले व्यक्त गरे।
विदेशी ब्याटरहरूबाट अपेक्षित प्रदर्शन हुन नसकेको विषयमा टमाटाले विदेशी खेलाडी सहयोगका लागि भए पनि मुख्य जिम्मेवारी नेपाली खेलाडीले नै उठाउनुपर्ने धारणा राखे।
लुम्बिनीसँग लगातार तीन खेल हारे पनि टोलीमा कुनै ‘मेन्टल ब्लक’ नरहेको दाबी गर्दै उनले भने, ‘खेलमा हारजित हुन्छ। हामीसँग अझै एक खेल (दोस्रो क्वालिफायर) बाँकी छ, अब अझ राम्रो क्रिकेट खेलेर नतिजा आफ्नो पक्षमा पार्छौँ।’
उनले युवा बलर हेमन्त धामीको स्विङ बलिङको प्रशंसा गर्दै अनुभव बटुल्दै जाँदा उनी छिट्टै राष्ट्रिय टोलीमा फर्कने विश्वाससमेत व्यक्त गरे।
‘एनपीएल अलि लामो भयो, पिच अझै राम्रो बनाउनुपर्छ’
पत्रकार सम्मेलनमा टमाटाले एनपीएलको विश्वभर प्रशंसा भइरहेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) र अघिल्लो दिनको वर्षातका बाबजुद मैदान तयार पार्ने ग्राउन्ड स्टाफलाई धन्यवाद दिए।
तर, प्रतियोगिताको अवधि र पिच (विकेट) मा सुधार आवश्यक रहेको उनको भनाइ थियो।
‘विदेशी खेलाडीहरूले पनि प्रतियोगिता अलि लामो भयो भनिरहेका छन्। मेरो विचारमा पनि एक हप्ताजति छोट्याउन सके अझ राम्रो हुन्छ,’ टमाटाले भने, ‘अझ स्तरीय क्रिकेट खेल्ने हो भने विकेट (पिच) पनि अलिकति राम्रो बनाउनुपर्छ जस्तो लाग्छ।’
साथै, उनले चिसो र बेलुकीपखको समयमा पनि मैदानमा आएर समर्थन गर्ने सुदूरपश्चिमका समर्थक तथा सम्पूर्ण नेपाली क्रिकेटप्रेमीप्रति आभार प्रकट गरे।
मंसिर १, २०८३ मंगलबार २१:४९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।