मुन्सीलाई पहिलो बलमै आउट गर्नु महत्त्वपूर्ण रह्यो : रुबेन ट्रम्पलम्यान

मुन्सीलाई पहिलो बलमै आउट गर्नु महत्त्वपूर्ण रह्यो : रुबेन ट्रम्पलम्यान

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेपछि लुम्बिनी लायन्सका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले टिमको निरन्तरता र ‘संस्कृति’लाई सफलताको मुख्य आधार बताएका छन्।

मङ्गलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलपछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलम्यानले ठूला नाम भएका खेलाडी भित्र्याउनुभन्दा गत सिजन उपाधि जिताएका मुख्य खेलाडीहरूलाई कायम राख्नु नै लुम्बिनीको बलियो पक्ष भएको बताए।

"गत सिजन फाइनल पुर्याएर उपाधि जिताउने मुख्य खेलाडीहरूमाथि विश्वास कायम राख्नुको श्रेय व्यवस्थापन र मालिकलाई जान्छ," ट्रम्पलम्यानले भने, "कहिलेकाहीँ ठूला नाम भएका खेलाडी टिममा घुलमिल नहुन सक्छन्। हाम्रा लागि टिमको संस्कृति महत्त्वपूर्ण छ- सँगै समय बिताउनु, एकअर्कालाई बुझ्नु र सँगै रमाइलो गर्नु नै हाम्रो टिमको शक्ति हो।"

उनले तीन सिजनको अवधिमा लुम्बिनी झन् बलियो हुँदै गएको र गत सिजनका कमजोरी सुधार गरेकाले विश्वका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था बनेको दाबी गरे।

आजको खेलमा इनिङ्सको पहिलो बलमै सुदूरपश्चिमका ओपनर जर्ज मुन्सीलाई बोल्ड गरेका ट्रम्पलम्यानले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिएका थिए।

मुन्सीको विकेटबारे बोल्दै उनले भने, "जर्ज निकै राम्रा खेलाडी हुन्, हामीले धेरै पटक एकअर्काविरुद्ध खेलेका छौँ। उनी यस पिचमा पहिला खेलेका थिएनन्, त्यसको केही फाइदा हामीलाई मिल्यो। बल त्यति भित्र मुभ (स्विङ) होला भन्ने मैले पनि सोचेको थिइनँ, तर पहिलो बलमै उनलाई पेभिलियन पठाउनु हाम्रा लागि निकै महत्त्वपूर्ण रह्यो।"

अघिल्लो खेलमा बलिङमा कठिन अनुभव भोगे पनि सम्हालिएर पुनरागमन गर्न सकेकोमा उनले सन्तुष्टि व्यक्त गरे। नेपाल र नेपाली समर्थकसामु खेल्न सधैँ रमाइलो लाग्ने उनको भनाइ थियो।

सुदूरपश्चिमविरुद्ध लगातारको नतिजाले लुम्बिनीको पल्ला भारी देखिएको स्वीकार गर्दै ट्रम्पलम्यानले विपक्षी टोलीको प्रशंसासमेत गरे।

"अहिलेको अवस्थामा सुदूरपश्चिममाथि हाम्रो केही अग्रता देखिएको छ। तर, उनीहरू निकै बलियो टोली हुन् र प्रतियोगिताको जुनसुकै टोलीलाई हराउन सक्छन्," उनले भने। उनले सुदूरपश्चिमलाई आगामी नकआउट खेलका लागि शुभकामना दिँदै फाइनलमा पुनः भेट हुने आशा व्यक्त गरे।

फाइनल प्रतिद्वन्द्वीबारे सोधिएको प्रश्नमा उनले सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र काठमाडौं गोर्खाज तीनै वटा स्तरीय टोली भएकाले जोकोही फाइनलमा पुग्न सक्ने बताए। साथै, एनपिएलको यो लय र अनुभव आगामी दिनमा नामिबियाको ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उपयोगी हुने उनको भनाइ छ।

मंसिर १, २०८३ मंगलबार २२:०२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।