नख्खु दोबाटोबाट स्रोत नखुलेको एक करोड ६७ लाखसहित तीन जना पक्राउ

नख्खु दोबाटोबाट स्रोत नखुलेको एक करोड ६७ लाखसहित तीन जना पक्राउ

काठमाडौं : ललितपुरको नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको एक करोड ६७ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ परेका छन्। सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको महेन्द्र मिनी कन्टेनर गाडीमा लैजाँदै गरेको अवस्थामा मंगलबार प्रहरीले उक्त रकम बरामद गरेको हो।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँका ३२ वर्षीय जयराम केसी, काठमाडौंको कोटेश्वरमा बस्ने भोजपुरको भोजपुर नगरपालिका-३ का ३१ वर्षीय दीपक खड्का र काठमाडौं महानगरपालिका- १० बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ललितपुरको एकान्तकुना क्षेत्रमा गैरकानूनी रूपमा स्रोत नखुलेको रकम ओसारपसार हुने गरेको सूचनाका आधारमा निगरानीको लागि प्रहरी टोली खटिएको थियो।

सोहीक्रममा ललितपुर महानगरपालिका- ४ नख्खु दोबाटो चोकमा मिनी कन्टेनर गाडीलाई रोकेर खानतलासी गर्दा स्रोत नखुलेको विभिन्न दरका उक्त नगदका साथै गाडी, तीन थान मोबाइलसहित उनीहरूलाई पक्राउ गरिएको कार्कीले जानकारी दिए। उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ।  

मंसिर १, २०८३ मंगलबार २०:०२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।