बूढीगण्डकीको बाढीले अवरुद्ध बनेको धार्चेको विद्युत् र सञ्चार सेवा डेढ महिनापछि सुचारु
गोरखा : बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको उत्तरी गोरखाको धार्चे गाउँपालिकाका ६ वटाभन्दा बढी गाउँबस्तीमा डेढ महिनापछि विद्युत् र सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ। असोज २५ गते गएको बाढीका कारण सेवा ठप्प हुँदा त्यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका थिए।
चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिवास उहिया लघु जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएपछि धार्चे गाउँपालिका–१ र ३ का करिब ६०० घरधुरी विद्युत्विहीन बनेका थिए। सोही जलविद्युत्बाट उहियास्थित नेपाल टेलिकमको टावरमा पनि विद्युत् आपूर्ति हुने गरेकाले बिजुली नभएपछि सञ्चार सेवा पूर्ण रूपमा ठप्प भएको थियो।
नेपाल टेलिकमको टावरमा विद्युत् सेवा जडान भएपछि सञ्चार सेवा पनि सुचारु भएको छ। विद्युत् जडान भएसँगै वरपरका गाउँबस्तीमा सञ्चार सम्पर्क सेवा सुचारु भएपछि स्थानीयबासी खुसी भएका छन्। सोमबार मात्र उहियामा विद्युत् सेवा सञ्चालनमा आएको धार्चे गाउँपालिका–२ का वडाध्यक्ष सरोज गुरुङले बताए।
उत्तरी गोरखाको गाउँबस्तीमा विद्युत् सेवा दिँदै आएको कादुरी नामक संस्थाको पहलमा उहियामा बिजुली बलेको उनले उल्लेख गरे। “उहियाको टावरबाट उहिया, माछाखोला, खोर्ला, खोर्लावेशी, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकका गाउँबस्तीमा सञ्चार सेवा सुचारु भएको छ”, गुरुङले भने, “त्यहाँ डेढ महिनासम्म बिजुली नबल्दा टावर चलेन। वरपरका सबै गाउँबस्तीमा बिजुली त जसोतसो बल्यो तर फोन सम्पर्क हुन सकेन।”
धार्चे गाउँपालिकाको वडा नं १, २ र ३ मा गत असोज २५ गते बाढी गएदेखि सञ्चार सेवा ठप्प बनेकोमा सोमबारदेखि मात्र सञ्चालनमा आएको हो।
टावरमा पुनः विद्युत् जडान भएलगत्तै उहिया, माछाखोला, खोर्ला, खोर्लावेशी, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकलगायतका गाउँबस्तीमा टेलिफोन तथा सञ्चार सम्पर्क सुचारु भएको छ।
गाउँमा सञ्चार सेवा ठप्प बन्दा वडाका काम कारबाही र स्थानीयको जनजीवनसमेत प्रभावित बनेको उहाँको भनाइ छ। “आजभोलि सञ्चार र प्रविधिको जमाना छ । यो डेढ महिना गाउँमा फोन टावर नचल्दा हामी पुरानै जमानामा पुगेको जस्तो भएका थियौँ”, उनले भने।
डेढ महिनासम्म फोन टावर नचल्दा स्थानीय बासिन्दाले सास्ती व्यहोर्नुपरेको थियो। विद्यालय तथा स्वास्थ्य चौकीका सोलारबाट जसोतसो मोबाइल चार्ज गरे पनि टावर नचल्दा फोन गर्नकै लागि गाउँलेले टाढा–टाढाका डाँडामा धाउनुपर्ने बाध्यता थियो।
सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तहको सेवाप्रवाह र दैनिक जनजीवनसमेत नराम्ररी प्रभावित भएको थियो। सेवा पुनः सञ्चालनमा आएपछि स्थानीय बासिन्दाहरूले राहतको अनुभूति गर्दै खुसी व्यक्त गरेका छन्।
मंसिर १, २०८३ मंगलबार १८:०८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।