ह्वाइट पार्क रिसोर्टमा प्रहरीको छापा, शंकास्पद गतिविधिको आरोप ३६ चिनियाँ नागरिक पक्राउ
काठमाडौं : काभ्रेपलाञ्चोकको पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित उक्त रिसोर्टमा जनगुनासोको आधारमा छापा हानेको प्रहरीले ३१ जना पुरुष र ५ जना महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो।
रिसोर्टमा विदेशी नागरिकहरूले शंकास्पद गतिविधि गरिरहेको भन्ने गुनासो आएपछि मंगलबार दिउँसो काभ्रेपलाञ्चोकस्थित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको ३० जनाको टोलीले उक्त रिसोर्टमा चेकजाँच गरेको प्रहरीले जनाएको छ।
त्यस क्रममा रिसोर्टका दुई वटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फेला परेका छन्। नियन्त्रणमा लिइएकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको छ।
घटनास्थल प्रहरी चौकी पाँचखालबाट करिब ३ किलोमिटर पूर्वमा पर्दछ। घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
मंसिर १, २०८३ मंगलबार १७:५७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।