नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा फेटा गाउँपालिकाका रोजगार संयोजक गिरीविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा फेटा गाउँपालिकाका रोजगार संयोजक गिरीविरुद्ध मुद्दा दायर

काठमाडौं : बाराको फेटा गाउँपालिकामा कार्यरत प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक ओम प्रकाश गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

शैक्षिक योग्यता ढाँटेर नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद प्राप्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गिरीविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले गिरीको प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको भन्ने उजुरी परेपछि अनुसन्धान हुँदा गिरीले ३ वर्षे बिएड तहको लब्धाङ्कपत्र नक्कली रहेको पुष्टि भएको बताए। उक्त लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा गिरीको नभई अन्य व्यक्तिको भएको खुल्न आएको न्यौपानेले जानकारी दिए। 

उक्त प्रमाणपत्र पेस गरेर उनले फेटा गाउँपालिकामा २०७८ जेठ १ गतेदेखि नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत सरहको रोजगार संयोजक पदमा नियुक्ति लिएका थिए। शैक्षिक योग्यता ढाँटेर झुट्टा प्रमाणपत्र पेस गरेर नियुक्ति लिएको आरोपमा गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा कैद र जरिवाना मागदाबी गरिएको छ।

मंसिर १, २०८३ मंगलबार १४:४२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।