मंसिर ५ र ६ गते नास–आईटी एक्सपो हुने, स्टार्टअप प्याभिलियन मुख्य आकर्षण
काठमाडौं : नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास–आईटी) ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्सपो २०२६’ आयोजना गर्ने भएको छ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना हुने दुईदिने एक्सपोमा ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने जानकारी दिए। यस वर्षको एक्सपोमा स्टार्टअप प्याभिलियन र दुईवटा विषयगत प्यानल छलफल थप गरिएको आयोजकले जनाएको छ।
एक्सपोले नेपाली प्रविधि कम्पनीलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ। विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्यसमेत एक्सपोको छ।
चापागाईंले नेपाली कम्पनीले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेको उल्लेख गर्दै उनले ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउन एक्सपोले भूमिका खेल्ने विश्वास व्यक्त गरे।
एक्सपोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास क्षेत्रमा काम गर्ने कम्पनी सहभागी हुनेछन्।
यस वर्ष युरोपेली संघ (ईयू) को सहयोगमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियन पनि राखिनेछ। त्यसमा स्टार्टअपहरूले आफ्ना नवीन विचार, उत्पादन र प्रविधिमा आधारित समाधान प्रस्तुत गर्न पाउनेछन्।
नोभेम्बर २०२५ मा आयोजित पहिलो नास–आईटी एक्सपोमा २ हजार ५०० भन्दा बढी आगन्तुक र ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका थिए। पहिलो संस्करणको अनुभवलाई निरन्तरता दिँदै यस वर्षको एक्सपो थप प्रभावकारी र व्यावसायिक सहकार्य केन्द्रित बनाउने आयोजकको अपेक्षा छ।
मंसिर १, २०८३ मंगलबार १५:५४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।