अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविले माग्यो ‘कन्ट्री फोकल पर्सन’

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविले माग्यो ‘कन्ट्री फोकल पर्सन’

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन माग गरेको छ। 

सो विश्वविद्यालयको उपकुलपतिबाट नियुक्त हुने प्रावधानसहित अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले स्थायी प्राध्यापकहरूबाट सो जिम्मेवारीमा नियुक्त गर्ने प्रक्रियाअन्तर्गत आशयपत्र माग गरेको हो।

सो भूमिकामा नियुक्त हुने प्राध्यापकको सम्बन्धित देशका विश्वविद्यालयसँग भएका पुराना सम्झौतालाई सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी–प्राध्यापक आदानप्रदान प्रर्वद्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा आकर्षित गर्न सहजीकरण गर्ने जिम्मेवारी तोकिएको छ।

त्रिविका अनुसार आगामी मङ्सिर १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने जानकारीसहित  आवेदकको अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षको ठोस कार्ययोजना संलग्न हुनुपर्ने छ। 

यसै सन्दर्भमा आवेदक प्राध्यापकहरूमध्येबाट अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशसँगको पूर्वसम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा ‘कन्ट्री फोकल पर्सन’ छनोट गरिने त्रिविले स्पष्ट गरेको छ।

मंसिर १, २०८३ मंगलबार १४:१९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।