२८ वर्षपछि ‘मासु जाँच ऐन’ कार्यान्वयनमा, उपत्यकामा जथाभावी पशु बध र मासु बेच्न नपाइने

२८ वर्षपछि ‘मासु जाँच ऐन’ कार्यान्वयनमा, उपत्यकामा जथाभावी पशु बध र मासु बेच्न नपाइने

काठमाडौं : कानुन जारी भएको २८ वर्षपछि काठमाडौं उपत्यकामा मंसिर १ गतेदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा आएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार पहिलो चरणमा उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का २१ स्थानीय तहमा यो ऐन लागू गरिएको हो।

मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा. लालकुमार श्रेष्ठले उपत्यकाका २१ स्थानीय तहबाट ऐन कार्यान्वयन सुरु गरिएको जानकारी दिए।

ऐन कार्यान्वयन भएसँगै अब उपत्यकामा जथाभावी पशु बध गर्न र अस्वस्थ मासु बेचबिखन गर्न पाइने छैन। यसबाट अव्यवस्थित स्थानमा पशु बध गरी उपभोक्तासम्म गुणस्तरहीन तथा अस्वस्थ मासु पुग्ने क्रम रोकिने विश्वास लिइएको छ।

सरकारले गत भदौ १ गते राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा उक्त ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। सोही कार्यतालिकाअनुसार आजदेखि पहिलो चरणको कार्यान्वयन थालिएको मन्त्रालयले जनाएको छ।

मंसिर १, २०८३ मंगलबार १३:५४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।