सर्लाहीमा कार र अटो ठोक्किँदा ६ जना घाइते, दुई जनालाई काठमाडौं रिफर
काठमाडौं : सर्लाहीको शीतलपुरस्थित सडकखण्डमा कार र अटो एक आपसमा ठोक्किँदा अटो चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
पर्सा गाउँपालिका- १ मा पर्ने उक्त सडकखण्डमा मंगलबार बिहान महोत्तरीको सम्सीबाट शीतलपुरतर्फ जाँदै गरेको बा २१ च ३०१५ नम्बरको कार फर्काउने क्रममा सोही दिशाबाट आउँदै गरेको ज १ ह ३७४५ नम्बरको अटोसँग ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटना लगत्तै घाइतेहरू उपचारका लागि महोत्तरीको रघुनाथपुरस्थित आरबी अस्पताल लगिएको थियो। उपचारका क्रममा दुई जनाको अवस्था गम्भीर देखिएपछि उनीहरूलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं रिफर हुनेहरूमा महोत्तरीको सम्सी गाउँपालिका- ७ का ६० वर्षीय राजकिशोर साह र सर्लाहीको मलंगवा नगरपालिका- १२ गमरियाका ७ वर्षीय मुरारी साह रहेका छन्।
त्यस्तै अन्य घाइतेहरू अटो चालक महोत्तरीको सोनमा गाउँपालिका- ५ का ३५ वर्षीय रवीन्द्र यादव, सर्लाहीको कौडेना गाउँपालिका- ६ सकरौलका २१ वर्षीय जसविन्द्र मुखिया, मलंगवा नगरपालिका- १२ गमरियाकी २८ वर्षीया रेनुदेवी साह र मलंगवाकै मुसैलीकी १६ वर्षीया अम्बिका यादव रहेका छन्। घाइतेमध्ये रेनु देवी साहलाई सामान्य चोट लागेको र उनको अवस्था सामान्य रहेको छ।
कार चालक महोत्तरीको सोनमा गाउँपालिका- ३ रघुनाथपुरका ५१ वर्षीय मनोजकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
मंसिर १, २०८३ मंगलबार १५:४४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।