इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने- 'उपचार नपाए जेलमै हत्या हुनेछ'

इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने- 'उपचार नपाए जेलमै हत्या हुनेछ'

एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानको स्वास्थ्य अवस्था गम्भीर रहेको उनका छोराहरूले बताएका छन्।

बेलायतको स्काई न्युजसँगको अन्तर्वार्तामा खानका छोराहरू सुलेमान इसा खान र कासिम खानले ७४ वर्षीय आफ्ना बुबाको स्वास्थ्य बिग्रिरहेको भन्दै तत्काल निजी अस्पतालमा उपचार गर्न माग गरेका हुन् ।

छोराहरूका अनुसार अदियाला जेलमा रहेका खानलाई दैनिक २२ देखि २३ घण्टासम्म एकान्त कारावासमा राखिएको छ र सुरक्षाकर्मीलाई समेत उनीसँग कुराकानी गर्न निषेध गरिएको छ। जेलभित्रै शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाउँदै उनीहरूले उचित उपचार र चिकित्सकीय निगरानी नपाए बुबाको जेलभित्रै ज्यान जान सक्ने चेतावनी दिएका छन् ।

उनीहरूका अनुसार इमरानको रक्तचाप अत्यधिक बढेको।  "अहिलेको अवस्था हेर्दा उनी अन्ततः यही कोठरीमा मर्नेछन्। उचित उपचारबिना उनलाई त्यहाँ राखिरहे जेलभित्रै उनको हत्या हुनेछ," दुवै छोराले अन्तर्वार्तामा भनेका छन्।

यसैबीच, नोभेम्बर १६ मा वकिल ब्यारिस्टर सलमान सफदरमार्फत अदियाला जेलबाट सार्वजनिक गरिएको एक खुला पत्रमा इमरान खान स्वयंले पनि आफ्नो स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गरेका छन्। नोभेम्बर ११ को कानुनी परामर्शपछि सार्वजनिक उक्त पत्रमा खानले आफ्नो रक्तचाप १९२ देखि १९३ सम्म पुगेको र चिकित्सकहरूले मस्तिष्कमा रक्तस्राव तथा हृदयाघातको उच्च जोखिम औंल्याएको बताएका छन्। साथै, मुटुमा क्षति पुगिसकेको, दाहिने आँखाको ८५ प्रतिशत दृष्टि गुमेको र लामो समयदेखि एकान्त कारावासमा राखिएको पत्रमा उल्लेख छ ।

इमरानका छोराहरूले गत अगस्ट १८ मा पाकिस्तानको सर्वोच्च अदालतले दिएको आदेशसमेत कार्यान्वयन नभएको बताएका छन्। उक्त आदेशमा इमरानलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि निजी अस्पताल शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न र परिवारसँग नियमित कुराकानी तथा भेटघाटको व्यवस्था मिलाउन भनिएको थियो।

"अगस्टमा सर्वोच्च अदालतले निजी अस्पतालमा उपचार गराउन र हामीसँग नियमित फोन सम्पर्कको व्यवस्था गर्न आदेश दिएको थियो। तर अहिलेसम्म केही परिवर्तन भएको छैन। उनको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको छ," उनीहरूले भने।

गत अगस्ट १८ को सर्वोच्च अदालतको आदेशअनुसार दुई दिनभित्र उनलाई शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गरी मुटुरोग विशेषज्ञ र आँखा विशेषज्ञसहितको चिकित्सकीय टोलीबाट परीक्षण गराउनुपर्ने थियो। तर, पाकिस्तानी सञ्चारमाध्यम 'डन' का अनुसार सरकारी अधिकारीहरूले उनलाई केही समय सरकारी अस्पताल 'पिम्स' मा लगेर पुनः अदियाला जेल नै फर्काएका थिए। यस विषयमा पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले सुरक्षाको कारण देखाउँदै निजी अस्पताल नसारीएको प्रतिक्रिया दिएका छन्, जसलाई पीटीआईले अस्वीकार गरेको छ।

इमरानले आफ्नी पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन्। सन् २०२५ जनवरी १७ देखि जेलमा रहेकी बुशरा बीबीको सन् २०२६ अप्रिलमा आँखाको जटिल शल्यक्रिया गरिएको र त्यसपछि पनि दृष्टिसम्बन्धी समस्या कायम रहेको उनले पत्रमा उल्लेख गरेका छन्।

सन् २०२३ अगस्ट ५ देखि निरन्तर जेलमा रहेका खानसँग छोराहरूले अन्तिमपटक गत मार्च २२ मा फोनमा कुराकानी गरेको बताएका छन्। सन् २०२२ नोभेम्बरमा भएको हत्या प्रयासको उपचारका क्रममा भेटेयता उनीहरूले बुबालाई प्रत्यक्ष भेट्न पाएको बताएका छन्। छोराहरूले नियमित फोन सम्पर्क र स्वतन्त्र चिकित्सकबाट उपचारको व्यवस्था गर्न माग गर्दै ढिलाइ भए गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन्।

मंसिर १, २०८३ मंगलबार १०:२१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।