ट्राभिस हेडले २०२७ को आईपीएल नखेल्ने

ट्राभिस हेडले २०२७ को आईपीएल नखेल्ने

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावाद (एसआरएच)को चर्चित तथा विस्फोटक ओपनिङ जोडी ‘ट्राभिशेक’ (ट्राभिस हेड र अभिषेक शर्मा) आगामी सिजन अर्थात् २०२७ मा नदेखिने भएको छ।

अस्ट्रेलियन ओपनर ट्राभिस हेडले व्यस्त अन्तर्राष्ट्रिय खेल तालिकाका कारण वर्कलोड घटाउन आगामी आईपीएल नखेल्ने निर्णय हैदरावादलाई जानकारी गराएको क्रिकइन्फोले जनाएको छ।

सन् २०२७ मा अस्ट्रेलियाको व्यस्त टेस्ट तालिका (२० टेस्ट), सम्भावित विश्व टेस्ट च्याम्पियनसिप फाइनल, एसेज सिरिज र एकदिवसीय विश्वकप रहेकाले हेडले आईपीएलबाट विश्राम लिने निर्णय गरेका हुन्।

सन् २०२५ को मेगा अक्सनअघि १४ करोड भारतीय रुपैयाँमा रिटेन गरिएका हेड बाहिरिएसँगै डिसेम्बर १६ मा गोवामा हुने अक्सनका लागि हैदरावादको पर्समा सोही १४ करोड भारु थपिनेछ। मंगलबार सबै फ्रेन्चाइज टोलीले खेलाडी रिटेन र रिलिज गर्ने अन्तिम म्याद हो।

सन् २०२४ को अक्सनमा ६.८ करोड भारुमा हैदरावादमा आबद्ध भएका हेडले टोलीका लागि ४३ खेलमा १७६.१४ को स्ट्राइक रेटमा १ हजार ३५१ रन बनाएका थिए।

अभिषेक शर्मासँगको उनको ‘ट्राभिशेक’ जोडीले ४२ इनिङ्समा ४६.१४ को औसतमा १ हजार ८९२ रन जोडेको थियो, जसमा ६ शतकीय र ९ अर्धशतकीय साझेदारी सामेल छन्। कम्तीमा १ हजार रनको साझेदारी गर्ने जोडीमध्ये प्रतिओभर १२.२७ को रनरेट आईपीएल इतिहासकै सर्वाधिक हो।

यसैबीच, हैदरावादले आगामी सिजनका लागि टोली पुनर्संरचना तीव्र पारेको छ। एसआरएचले लेगस्पिनर जिसान अन्सारीलाई दिल्ली क्यापिटल्स पठाएर तीव्र गतिका बलर टी नटराजनलाई भित्र्याएको छ।

लियम लिभिङस्टोन र ज्याक एडवर्ड्सको सट्टा चेन्नई सुपर किङ्सबाट खलिल अहमद र नाथन एलिसलाई ट्रेड गरेको छ। त्यस्तै, हर्षल पटेललाई ४ करोड भारुमा गुजरात टाइटन्स पठाउने तयारीसमेत भइरहेको छ।

मंसिर १, २०८३ मंगलबार १२:४९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।