कतार उड्यो ‘एसिया कप राइजिङ स्टार्स’ खेल्ने नेपाली टोली

कतार उड्यो ‘एसिया कप राइजिङ स्टार्स’ खेल्ने नेपाली टोली

काठमाडौं : कतारको दोहामा आयोजना हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स, २०२६’ मा सहभागी हुन सन्दीप लामिछानेको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली आज कतार उडेको छ।

टोलीका सदस्य कुशल भुर्तेलले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै टोली कतार उडेको जानकारी दिएका हुन्। उनले तस्बिरको क्याप्सनमा ‘Reunited again’ लेखेका छन्।

नोभेम्बर १९ देखि २९ सम्म ५० ओभरको एकदिवसीय ढाँचामा सञ्चालन हुने यस प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहनेछ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले कात्तिक २९ गते विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको टोलीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफबाट बाहिरिसकेका टोलीका खेलाडीहरूको बाहुल्य छ।

एनपीएलको प्लेअफ खेलहरू नोभेम्बर १७ देखि २१ सम्म चल्ने र कतारमा नोभेम्बर १९ देखि नै प्रतियोगिता सुरु हुने भएकाले प्लेअफ खेलिरहेका टोलीलाई असर नपर्ने गरी सन्तुलन मिलाइएको हो।

कुन एनपीएल टोलीबाट को-को परे?
घोषित टोलीमा एनपीएलको प्लेअफमा पुगेका चार टोलीबाट जम्मा ५ जना खेलाडी समेटिएका छन्।

जसमध्ये शीर्ष स्थानको लुम्बिनी लायन्सबाट सन्दीप जोरा र अभिषेश गौतम तथा सुदूरपश्चिम रोयल्सबाट ईशान पाण्डे, काठमाडौँ गोर्खाजबाट राशिद खान र चितवन राइनोजबाट देव खनाल टोलीमा छन्।

बाँकी १० जना खेलाडी भने लिग चरणबाटै बाहिरिएका चार टोलीबाट छानिएका छन्।

कर्णाली याक्सबाट सोमपाल कामी, नन्दन यादव, पवन सर्राफ र दीपक डुम्रे, विराटनगर किङ्सबाट कप्तान सन्दीप लामिछानेसहित लोकेश बम र बसिर अहमद, पोखरा एभेन्जर्सबाट कुशल भुर्तेल र अर्जुन कुमाल तथा जनकपुर बोल्ट्सबाट ललित राजवंशी टोलीमा समेटिएका छन्।

नेपालको समूह र खेल तालिका
प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै भारत ‘ए’, साबिक विजेता पाकिस्तान शाहिन्स (पाकिस्तान ‘ए’) र यूएई रहेका छन्। त्यस्तै समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्।

खेल तालिकाअनुसार नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

१५ सदस्यीय नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, सन्दीप जोरा, पवन सर्राफ, बसिर अहमद, नन्दन यादव, अर्जुन कुमाल, देव खनाल, ईशान पाण्डे, राशिद खान, दीपक डुम्रे र अभिषेश गौतम।

मंसिर १, २०८३ मंगलबार १०:४१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।