के हो एनपीएल प्लेअफ? हारेको टिम कसरी बन्नसक्छ च्याम्पियन?
काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरण सकिएर अब मंगलबारदेखि ‘प्लेअफ’ सुरु हुँदैछ।
फुटबलमा हामीले ‘क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल’ सुन्दै र बुझ्दै आएका छौँ। तर क्रिकेटमा ‘क्वालिफायर-१’, ‘एलिमिनेटर’ र ‘क्वालिफायर-२’ जस्ता शब्द आउँदा धेरै दर्शक अलमलमा पर्न सक्छन्।
आखिर फुटबलको नकआउट र एनपीएलको प्लेअफमा के फरक छ, अनि टोलीहरू कसरी च्याम्पियन बन्छन् त? फुटबलसँग तुलना गर्दै सरल भाषामा यसरी बुझौँ:
फुटबल र एनपीएल प्लेअफबीचको मुख्य फरक
फुटबलको विश्वकप वा स्थानीय गोल्डकपमा क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल हुन्छ।
त्यहाँ एउटै नियम चल्छ- ‘हारे सिधै घर’ अर्थात् समूह चरणमा जतिसुकै राम्रो खेलेर शीर्ष स्थानमा आए पनि सेमिफाइनलमा एक दिन खराब प्रदर्शन भयो भने त्यो टोली सिधै बाहिरिन्छ।
तर, टी-२० क्रिकेट अलि अनिश्चित खेल हो। यहाँ एउटा टस, वर्षा वा दुई ओभरको खराब खेलले पनि नतिजा पल्टिन सक्छ।
त्यसैले पूरा लिग चरणभर मेहनत गरेर शीर्ष दुई स्थानमा आउने टोली फुटबलको जस्तो सिधा सेमिफाइनल नराखी ‘प्लेअफ प्रणाली’ लागू गरिएको हो।
यसअनुसार शीर्ष दुईमा रहने टोलीले फाइनल पुग्न दुईवटा मौका पाउँछन् भने तेस्रो र चौथो स्थानका टोलीले एउटा मात्र मौका पाउँछन्।
फुटबलको आँखाबाट एनपीएल प्लेअफका ४ खेल
अङ्कतालिकाको पहिलो र दोस्रो स्थानमा रहेका टोलीबीच ‘क्वालिफायर-१’ हुन्छ।
यो फुटबलको सेमिफाइनल जस्तै हो, तर यसमा हारिने टोलीका लागि लाइफलाइन अर्थात दोस्रो मौका हुन्छ भने जित्ने टोली सिधै फाइनल पुग्छ। हार्ने टोली बाहिरिँदैन, उसले फाइनल पुग्ने अर्को मौका अर्थात क्वालिफायर-२ पाउँछ।
अङ्कतालिकाको तेस्रो र चौथो स्थानका टोलीबीच ‘एलिमिनेटर’ खेल हुन्छ। यो ठ्याक्कै फुटबलको क्वार्टरफाइनल वा नकआउट खेल जस्तै हो- हारे सिधै घर! जित्ने टोली अर्को चरण अर्थात् सेमिफाइनल सरहको ‘क्वालिफायर-२’ मा प्रवेश गर्छ।
क्वालिफायर-१ मा पराजित भएर दोस्रो मौका पाएको टोली र एलिमिनेटर जितेर आएको टोलीबीच ‘क्वालिफायर-२’ हुन्छ। यो फुटबलको वास्तविक सेमिफाइनल जस्तै हो- यहाँ कुनै दोस्रो मौका हुँदैन। जित्ने टोली फाइनल पुग्छ, हार्ने टोली बाहिरिन्छ।
क्वालिफायर-१ को विजेता र क्वालिफायर-२ को विजेताबीच फुटबलकै जस्तो उपाधि भिडन्त अर्थात फाइनल देल हुन्छ अनि जित्ने टोली च्याम्पियन बन्छ।

छोटकरीमा भन्नुपर्दा, शीर्ष दुई टोलीले जम्मा २ खेल (क्वालिफायर-१ र फाइनल) जिते च्याम्पियन बन्न सक्छन्।
तर, तेस्रो वा चौथो स्थानको टोलीलाई च्याम्पियन बन्न फुटबलको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल जस्तै लगातार ३ वटै खेल एलिमिनेटर, क्वालिफायर-२ र फाइनल जित्नैपर्ने दबाब हुन्छ।
कसरी च्याम्पियन बने जनकपुर र लुम्बिनी?
एनपीएलका अघिल्ला दुई सिजनमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सले यही प्रणालीअन्तर्गत फरक-फरक बाटोबाट उपाधि जितेका थिए।
पहिलो सिजनमा लिग चरणका खेलहरू जितेर जनकपुर बोल्ट्स शीर्ष दुईमा परेको थियो। क्वालिफायर-१ मा सुदूरपश्चिम रोयल्ससँग हारे पनि शीर्ष दुईमा रहेकै कारण जनकपुर बाहिरिएन।
दोस्रो मौका अर्थात क्वालिफायर-२ मा कर्णाली याक्सलाई २ विकेटले हराएर फाइनल पुगेको जनकपुरले फाइनलमा पुनः सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै पहिलो च्याम्पियन बन्यो।
दोस्रो सिजनमा साविक विजेता लुम्बिनी लायन्स तेस्रो/चौथो समूहमा परेकाले एलिमिनेटर खेल्नुपर्यो। फुटबलमा क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल जितेजस्तै लुम्बिनीले पनि लगातार तीन नकआउट खेल जित्यो।

एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई, क्वालिफायर-२ मा विराटनगर किङ्सलाई र फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले ट्रफी उचाल्यो।
तेस्रो सिजनको प्लेअफ तालिका
जारी तेस्रो सिजनमा लुम्बिनी लायन्स ११ अङ्कसहित पहिलो, सुदूरपश्चिम रोयल्स १० अङ्कसहित दोस्रो, काठमाडौं गोर्खाज ८ अङ्कसहित तेस्रो र चितवन राइनोज ७ अङ्कसहित चौथो स्थानमा रहेर प्लेअफमा पुगेका छन्।

मंगलबार हुने क्वालिफायर-१ मा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् भने बुधबार हुने एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमने सामने हुँदैछन्।
अनि बिहीबार हुने क्वालिफायर-२ मा क्वालिफायर-१ अर्थात लुम्बिनी र सुदूरपश्चिमको खेलको हारेको टोलीले एलिमिनेटर अर्थात काठमाडौं र चितवनबीचको खेलको जितेको टोलीसँग भिड्नेछ।

शनिबार हुने फाइनल खेलमा क्वालिफायर-१ अर्थात लुम्बिनी र सुदूरपश्चिमको खेलको विजेताले क्वालिफायर-२ को विजेतासँग भिड्नेछ। यो खेलमा जसले जित्छ, त्यही टोली च्याम्पियन बन्नेछ।
मंसिर १, २०८३ मंगलबार ०७:५५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।