राष्ट्रिय कर दिवस : सर्वाधिक कर तिर्नेमा राजबहादुर शाह र सूर्य नेपाल, भाटभटेनीलाई ‘विशेष सम्मान’

राष्ट्रिय कर दिवस : सर्वाधिक कर तिर्नेमा राजबहादुर शाह र सूर्य नेपाल, भाटभटेनीलाई ‘विशेष सम्मान’

काठमाडौं : राष्ट्रिय कर दिवसका अवसरमा सरकारले आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ।

मंगलबार आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन्।

यस वर्ष व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्। शाह यसअघि २०७७, २०७९, २०८० र २०८२ सालमा पनि सर्वाधिक व्यक्तिगत आयकर तिरेबापत सम्मानित भएका थिए।

संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गरेबापत सूर्य नेपाल प्रालि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ। सूर्य नेपालसहित विभिन्न व्यावसायिक क्षेत्रबाट सर्वाधिक कर तिर्ने अन्य उत्कृष्ट संस्थाहरूलाई समेत सम्मान गरिएको छ।

विषम परिस्थितिबाट उठेको भाटभटेनीलाई ‘विशेष सम्मान’
कर दिवसका अवसरमा सरकारले भाटभटेनी सुपरमार्केटलाई ‘विशेष सम्मान’ प्रदान गरेको छ।

प्रतिकूल परिस्थितिका बाबजुद तीव्र गतिमा पुनर्निर्माण गरी अधिकांश स्टोर पुनः सञ्चालनमा ल्याउँदै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याएको र रोजगारी सिर्जना गरेको भन्दै भाटभटेनीलाई छुट्टै सम्मान गरिएको हो।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भाटभटेनीका अधिकांश स्टोरमा आगजनी तथा तोडफोड हुँदा कम्पनीले ठूलो क्षति व्यहोरेको थियो।

त्यसअघि तीनकुनेमा दुर्गा प्रसाईंको आह्वानमा भएको प्रदर्शन भड्किँदा कोटेश्वरस्थित भाटभटेनी स्टोरमा समेत लुटपाट भएको थियो।

विभिन्न विधाका अन्य सम्मानित करदाता
आन्तरिक राजस्व विभागले वस्तु व्यापार कारोबारतर्फ सबैभन्दा बढी कर तिरेबापत सीजी इम्पेक्स प्रालिलाई सम्मान गरेको छ।

अर्थमन्त्री डा. वाग्लेले उक्त सम्मानपत्र सीजीका निर्वाण चौधरीलाई प्रदान गरेका थिए। बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएकाले सम्मान गरिएको र यसले अन्य करदातालाई समेत प्रेरणा मिल्ने विभागले सम्मानपत्रमा उल्लेख गरेको छ।

एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल, वस्तु निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, सूचना प्रविधि सेवा निर्याततर्फ इनफाइनाइट, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक, शिक्षा तथा स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ सोल्टी होटल र वस्तु व्यापार कारोबारतर्फ सीजी इम्पेक्स प्रालि पनि सम्मानित भएका छन्।

सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको सम्झनामा २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। सोही अवसरमा बर्सेनि उत्कृष्ट करदातालाई सम्मान तथा पुरस्कृत गर्ने गरिन्छ।

मंसिर १, २०८३ मंगलबार ११:२९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।