निगरानी बढाउँदा पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा रोकिएन चोरीसिकार
गण्डकी : वनगस्ती, सिसी क्यामेरा र ड्रोनमार्फत निगरानी बढाउँदा पनि अन्नपूर्ण संरक्षण क्षेत्रमा पासो थापेर वन्यजन्तु तथा पक्षीको चोरीसिकार हुने क्रम रोकिएको छैन। बर्सेनि ठूलो सङ्ख्यामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पासो हटाउने गरे पनि चोरीसिकार नियन्त्रणमा आउन सकेको छैन।
आयोजना कार्यालयको आँकडा अनुसार गत आव २०८२/८३ मा मात्र संरक्षण क्षेत्रभित्रबाट ३४३ पासो हटाइएको थियो। आव २०८१/८२ मा १७३ र आव २०८०/८१ मा ९८ पासो हटाइएको थियो। सबैभन्दा बढी दसैँतिहारका बेला र चैत-वैशाखको याममा पासो थाप्ने प्रवृत्ति बढी देखिने गरेको आयोजनाका प्रमुख डा रविन कडरियाले बताए।
“चोरीसिकारका नियन्त्रणका लागि वनगस्ती गर्दा पासो धेरै भेटिने गरेको छ”, उनले भने, “कस्तुरीमृग, हिमाली कालो भालु, डाँफे, मुनाल आदि सिकारका लागि पासो थाप्ने गरेको पाइएको छ।”
कतिपय वन्यजन्तुलाई पासोमा परेर मरेको अवस्थामा उद्धार गर्ने गरिएको आयोजना प्रमुख डा कडरियाले बताए। वन्यजन्तुको चोरीसिकार नियन्त्रणका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि र संरक्षण गतिविधि सञ्चालन गर्दै आए पनि चोरीसिकार नियन्त्रणमा चुनौती कायमै रहेको उनको भनाइ छ।
कस्तुरीमृगको वीणा, भालुको पित्त र चितुवाको छालाका लागि सिकार गर्न मानिसहरू लालायित हुने गरेको उनको भनाइ छ। वन्यजन्तुको सिकार भएका घटना भेटिने गरे पनि पछिल्लो समय यहाँबाट अन्यत्र वन्यजन्तुको तस्करी भने गरेको नपाइएको उनले बताए।
कतिपय ठाउँमा बालीनाली जोगाउन र वन्यजन्तुको मासु उपभोगका लागि पनि सिकार गर्ने चलन रहेको छ। चोरीसिकारले दुर्लभ वन्यजन्तुको अस्तित्वसमेत सङ्कटमा पर्ने जोखिम रहेको आयोजना प्रमुख डा कडरियाले बताए।
“वन्यजन्तुको चोरीसिकार नियन्त्रणका लागि वनगस्ती बढाउने, सिसी क्यामेरा जडान, ड्रोनबाट निगरानी गर्ने जस्ता क्रियाकलापलाई बढाइएको छ”, उनले भने, “स्थानीयवासी र समुदाय स्वयं पनि संरक्षण अभियानमा संवेदनशील र जिम्मेवार भएर लाग्नुपर्छ।”
उनका अनुसार गत वर्ष कस्तुरीमृग, घोरल, निरबिरालोसहित चार वन्यजन्तुको अवैध सिकार गरिएको थियो। त्यस्तै आव २०८१/८२ मा नौ र २०८०/८१ मा १२ वन्यजन्तुको चोरीसिकार गरिएको थियो। चोरीसिकारबाहेक छाडा कुकुरको आक्रमण, सवारीसाधनको ठक्करलगायत कारणले पनि यस क्षेत्रमा वन्यजन्तु मर्ने गरेका छन्। छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ।
छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको प्रयास भए पनि वन्यजन्तुमाथि छाडा कुकुरको आक्रमण नरोकिएको आयोजना प्रमुख डा कडरियाले बताए। उनका अनुसार छाडा कुकुरको आक्रमणबाट पछिल्ला तीन आवमा १२ वटा वन्यजन्तु मरेका थिए। छाडा कुकुर नियन्त्रणका लागि आयोजना कार्यालयले बर्सेनि कुकुरको बन्ध्याकरण गर्दै आएको छ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यस क्षेत्र हिउँचितुवा, कस्तुरीमृग, नाउर, हिमाली थारजस्ता जनावर र हिमाली वनस्पतिका लागि प्रख्यात छ। यहाँ विभिन्न प्रकारका स्तनधारी वन्यजन्तु, दुर्लभ पक्षी तथा सरीसृपहरू पाइन्छन्।
कात्तिक ३०, २०८३ सोमबार १९:३९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।