सुडानमा सेनाको ड्रोन आक्रमण, फुटबल खेलिरहेका चार बालबालिकासहित १५ को मृत्यु
एजेन्सी : सुडानको पश्चिम कोर्डोफान राज्यस्थित अबु कल्ब गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ।
आइतबार भएको उक्त आक्रमणमा परी अन्य केही घाइते भएका छन् भने दर्जनौँ घरमा आगलागी भएको स्थानीय अधिकार अनुगमन संस्थाले जनाएको छ।
स्थानीय अधिकारवादी संस्था कोर्डोफान अब्जर्भेटरीका अनुसार सेनाले एउटै बस्तीमा दुई पटक ड्रोन प्रहार गरेको थियो । पहिलो प्रहार बालबालिकाहरू फुटबल खेलिरहेको सार्वजनिक चोकमा र दोस्रो प्रहार स्थानीय बासिन्दाका घरहरूमा भएको थियो ।
आफ्नो सुरक्षा जोखिमका कारण नाम सार्वजनिक नगर्न आग्रह गरेका एक जीवित व्यक्तिले सञ्चार अवरोध छल्न स्याटेलाइट इन्टरनेट प्रयोग गरी घटनाबारे जानकारी दिएका छन्। उनका अनुसार आक्रमणमा १५ जनाले ज्यान गुमाएका छन्। आक्रमणमा मारिएका १५ मध्ये नौ जना आफ्नै आफन्त रहेको बताउँदै उनले जारी युद्धमा यसअघि नै बुबा गुमाएका दुई बालबालिकासमेत आक्रमणमा मारिएको बताएका छन्।
सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि जारी युद्धमा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्ने प्रयासस्वरूप पश्चिम कोर्डोफान राज्यमा प्रत्याक्रमण गरिरहेको छ। सोही क्रममा गाउँमा आक्रमण भएको हो।
सहायता क्षेत्रमा कार्यरत अधिकारीहरूको अनुमानअनुसार सुडानको युद्धमा अहिलेसम्म दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। युद्धले विश्वकै ठूलो भोकमरी र विस्थापन सङ्कटसमेत निम्त्याएको छ।
संयुक्त राष्ट्रसङ्घले युद्धरत दुवै पक्षले व्यापक रूपमा ड्रोन प्रयोग गरिरहेको भन्दै बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ। सन् २०२६ को पहिलो छ महिनामा मात्रै ड्रोन आक्रमणमा एक हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ। यस वर्ष भएका बालबालिकासम्बन्धी सयौँ हताहतीमध्ये करिब दुई तिहाइको मृत्यु वा घाइते हुनुमा ड्रोन आक्रमण नै मुख्य कारक रहेको राष्ट्रसङ्घले यसै साता बताएको छ।
कात्तिक ३०, २०८३ सोमबार १५:००:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।