पत्नीको रहस्यमय मृत्युमा लण्डनका पूर्वप्रहरी अधिकारीका झूट, भित्री अङ्गसमेत टुक्र्याएर प्रमाण नष्ट !
एजेन्सी : बेलायतको लन्डनस्थित मेट्रोपोलिटन प्रहरीका एक पूर्वइन्सपेक्टरले बारबाडोसको एक होटलमा भएको आफ्नी पत्नीको रहस्यमय मृत्युबारे बारम्बार झूट बोलेको खुलासा भएको छ।
बीबीसी पानोरामाको खोजअनुसार बलात्कार तथा घरेलु हिंसाका पीडितको रक्षा गर्ने जिम्मेवारीमा रहेका पूर्वप्रहरी अधिकृत वारेन आर्टेरले आफ्नै ४७ वर्षीया पत्नी रेबेका आर्टेरलाई एक दशकभन्दा लामो समयसम्म यौन हिंसा, घरेलु दुर्व्यवहार र नशालु पदार्थ दिएर यातना दिएका थिए।
सन् २०२४ को जुन महिनामा बारबाडोसको सुविधासम्पन्न ‘ओटु बीच क्लब’ होटलको कोठामा रेबेका मृत फेला परेकी थिइन्।
५४ वर्षीय वारेनले पत्नी बिरामी भएको भन्दै होटलको रिसेप्सनमा फोन गरेका थिए। तर, कर्मचारी कोठामा पुग्दा रेबेकाको ओठ नीलो भइसकेको र उनको मृत्यु भइसकेको प्रस्ट देखिन्थ्यो।
होटलका सुरक्षा गार्ड एन्ड्र्युका अनुसार आपत्कालीन उद्धार टोली आउनुअघि नै वारेन ‘दिमाग फ्रेस पार्न’ भन्दै नजिकैको सडक पार्टीमा जान खोजेका थिए। कर्मचारीले रोकेपछि उनले नक्कली आँसु झार्दै सीपीआर दिएजस्तो नाटक गरेका थिए।

कोठाको ओछ्यान, भित्ता र बैठक कोठामा रगत लतपतिएको थियो। वारेनले कोठाको भिडियो खिचेर बेलायतस्थित आफन्तलाई पठाउँदै ‘यो चकलेट जस्तो देखिए पनि रगत हो’ भनेका थिए।
उनले घटनाबारे कहिले दराजमा ठोक्किएर लडेको, कहिले खानेकुरा अड्किएको, कहिले पेय पदार्थमा कसैले केही मिसाइदिएको त कहिले १८ घण्टा सुतेर उठ्दा मृत भेटेको भन्दै फरक-फरक झूटो बयान दिएका थिए।
होटलका सुरक्षा सुपरभाइजर केनेथ र रिसेप्सनका कर्मचारीका अनुसार वारेनले पत्नीलाई सधैँ कडा नियन्त्रणमा राख्थे र नशालु पदार्थ खुवाउने गरेको शंका थियो।
रेबेकाको मृत्यु भएको भोलिपल्ट बिहानै वारेनले होटलको रिसेप्सनमा आएर ‘पत्नीले अन्तिम पटक स्पामा मसाज कहिले गरेकी थिइन्’ भनी अनौठो प्रश्न सोधेका थिए।
वारेन र रेबेकाको भेट सन् २००६ मा भएको थियो। त्यतिबेला रेबेका घरेलु हिंसाबाट जोगिन प्रहरीमा उजुरी लिएर गएकी थिइन् र वारेन नै उनको मुद्दाका अनुसन्धान अधिकृत थिए। पछि वारेनले उनीसँग सम्बन्ध बढाए र सँगै बस्न थाले।
तीन वर्षपछि वारेन लन्डनको बेक्सलीहिथ प्रहरी स्टेसनमा बलात्कार मुद्दा अनुसन्धान गर्ने एकाइको प्रमुख बने। पछि अन्य आठ जना पीडित महिलामाथि दुर्व्यवहार गरेको आरोपमा उनीमाथि छानबिन सुरु भयो।
सात वर्षसम्म पूरै तलब खाएर निलम्बनमा बसेका उनलाई सन् २०२३ मा लागुऔषधसम्बन्धी कसुरमा प्रहरी सेवाबाट बर्खास्त गरिएको थियो। यद्यपि, दुर्व्यवहारको मुद्दामा उनी कहिल्यै दोषी ठहर भएका थिएनन्।

बेलायतको घरमा भेटिए गोप्य क्यामेरा र आपत्तिजनक तस्बिर
रेबेकाको मृत्युपछि उनका छोरा इलियट र बुहारी लेसी बेलायतस्थित रेबेका र वारेन बस्ने घरमा पुग्दा झस्किए।
त्यहाँ उनीहरूले विभिन्न प्रकारका लागुऔषध, घरभित्र लुकाइएका गोप्य सीसीटीभी क्यामेरा तथा रेबेकाको सहमतिबिना खिचिएका नग्न र चोटपटक लागेका आपत्तिजनक तस्बिरहरू फेला पारे।
मृत्युको चार दिनपछि उनीहरू बेक्सलीहिथ प्रहरी स्टेसन पुगेर वारेनमाथि शङ्का व्यक्त गर्दै छानबिनको माग गरे। सुरुमा बारबाडोसको घटना भन्दै पन्छिन खोजेका प्रहरी कर्मचारीहरू वारेनको नाम सुन्नेबित्तिकै अताल्लिएका थिए।
तर, सोही साँझ उच्च प्रहरी अधिकारीलाई जानकारी गराइए पनि ‘अपराधको औपचारिक उजुरी नपरेको’ भन्दै मेट प्रहरीले बारबाडोसमा अनुसन्धान टोली पठाएन।

शवको अङ्ग टुक्र्याएर प्रमाण नष्ट
बारबाडोस प्रहरीले पनि घटनाको गम्भीर अनुसन्धान गरेन। होटलका कर्मचारीसँग औपचारिक सोधपुछ गरिएन र घटनास्थलका प्रमाण सुरक्षित राखिएन।
अझ घटनास्थलमा पुगेका एक बारबाडोसका प्रहरी अधिकारीले त आफ्नो फोनमा मृतकको तस्बिर राखेर बीबीसीसँग सूचना दिन पैसासमेत मागेका थिए।
बारबाडोस प्रहरीले प्राकृतिक कारणले मृत्यु भएको भन्दै शरीरमा विष वा नशालु पदार्थ भए-नभएको परीक्षण नै गरेन।
अझै डरलाग्दो कुरा, बारबाडोसका चिकित्सक (प्याथोलोजिस्ट) ले पोस्टमार्टमका क्रममा रेबेकाको शरीरका भित्री अङ्गहरू विनाकारण स-साना टुक्रा पारेर काटिदिए। शव बेलायत ल्याएपछि गरिएको जाँचमा यसले महत्त्वपूर्ण प्रमाणहरू नष्ट गरेको पाइयो।
बेलायतमा मृत्युको कारण छानबिन गर्ने न्यायिक अधिकारी (कोरोनर) एन्ड्र्यु ह्यारिसले बारबाडोसले देखाएको ‘फोक्सोको सङ्क्रमण’ को कारण अस्वीकार गर्दै जानिजानी प्रमाण लुकाउन वा अनुसन्धानमा अवरोध गर्न खोजिएको हुन सक्ने बताएका छन्।

उनले रेबेकाको मृत्यु नशालु पदार्थको असरले भएको हुन सक्ने र हत्याको सम्भावनालाई नकार्न नसकिने भन्दै मृत्युको यकिन कारण नखुलेको निर्णय सुनाए।
पक्राउ परेको तीन दिनमै जेलमा आत्महत्या
पत्नीको मृत्यु भएको एक हप्तापछि वारेन बेलायत फर्किए। सन् २०१० मा आफैँले अनुसन्धान गरेको अर्की एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई हिथ्रो विमानस्थलबाट पक्राउ गरियो। पक्राउ परेको तीन दिनपछि वारेनले लन्डनको वान्ड्सवर्थ जेलभित्रै आत्महत्या गरे।
मेट प्रहरीका कमान्डर साइमन मेसिन्जरले रेबेकाको परिवारप्रति सहानुभूति प्रकट गर्दै बलात्कार तथा यौन हिंसाका पीडितहरूलाई जतिसुकै पुरानो घटना भए पनि प्रहरीसमक्ष आउन आग्रह गरेका छन्।
यता रेबेकाका छोरा इलियटले भने आफ्ना साना छोराछोरीले हजुरआमालाई कहिल्यै चिन्न नपाउने र आमाको मृत्यु कसरी भयो भन्ने सत्य आफूले जीवनभर थाहा नपाउने भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।
कात्तिक २९, २०८३ आइतबार १२:३३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।