बझाङको बुंगलमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङको बुंगलमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बालक बेपत्ता

बझाङ : बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।

सोमबार बिहान करिब १०ः२० बजे टुमेडाबाट  हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक उपेन्द्र तिमिल्शेनाले बताए।

दुर्घटनामा परी बुंगल नगरपालिका–१० का करिब ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र ५ वर्षीया डल्ली महराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अटोमा चालकसहित चार जना सवार रहेका थिए। दुर्घटनामा परेका अर्का एक बालक भने बेपत्ता छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी पोस्टबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको उक्त स्थानमा बेपत्ता बालकको खोजी कार्य तीव्र पारिएको छ। घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक ३०, २०८३ सोमबार १४:१२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।